घोराही । लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङ घोराहीले रक्तदानको श्रृङ्खला सुरु गरेको छ । हरेक महिनाको १५ गते क्लवको पहलमा सामुहिक रक्तदान कार्यक्रम आयोजना गर्ने गरी श्रृङ्खला थालिएको बताइएको छ ।
क्लवका अध्यक्ष शरद अधिकारीको अध्यक्षतमा भएको रक्तदान कार्यक्रमको उद्घाटन घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले गरे । रक्तदान कार्यक्रम सुभारम्भ गर्दै मेयर चौधरीले रगतको अभावका कारणले कोही पनि समस्यामा नपरुन भनेर लायन्स क्लवले थालेको अभियानमा सवैको साथ रहनुपर्ने बताए ।
रगतको महत्वका बारेमा बोल्दै नेपाल रेडक्रश सोसाइटी दाङका मन्त्री प्रकाश श्रीवन्दले रक्तदान सवैभन्दा ठूलो दान भएको बताए । उनले नेपाल रेडक्रश सोसाइटी दाङले घोराही, तुलसीपुर र लमहीमा रक्त सञ्चार केन्द्र संचालन गरेर विरामीलाई सेवा दिइरहेको बताए ।
लायन्स क्लव राप्ती इञ्जिनियरिङको आयोजना र लियो क्लवहरुको सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रमको पहिलो श्रृङ्खलामा १२ जनाले रक्तदान गरेका थिए ।
