काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कर्मचारीहरूलाई प्रशासक नभई जनसेवक भएर काम गर्न निर्देशन दिएका छन् ।
शुक्रवार दिउँसो सिंहदरबारमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को ११ औँ बैठकमा प्रधानमन्त्री प्रचण्डले औपचारिक नेतृत्व वा प्रशासक नभएर नागरिकको सेवकका रूपमा आफूलाई स्थापित गर्न कर्मचारीहरूलाई निर्देशन दिएका हुन् ।
‘वर्षाको समयअघि नै किन हामी उद्धार र राहतसम्बन्धी आवश्यक आधारभूत सामग्रीहरूको बन्दोबस्त गर्दैनौँ ? विपद्जस्तो अत्यन्तै संवदेनशील विषयमा पनि किन हामी झन्झटिलो प्रशासनिक जञ्जाल बनाएर नागरिकलाई सास्ती दिइरहेका छौँ ? राहत र पुनःस्थापनामा मानवीय भावनासहितको तदारुकता देखिनुपर्नेमा किन हामी औपचारिक नेतृत्व र प्रशासक बनेर प्रस्तुत हुन्छौँ श्र यी र यस्ता प्रश्नहरूप्रति जिम्मेवार बनेरमात्र हामीले विपद् न्यूनीकरण र व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सक्छौँ’, उनले भने ।











