काठमाडौँ । मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय अवस्थामा पुगेको छ। अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा पेस भएको ६० दिनको अवधिमा प्रतिस्थापन पारित नभएपछि अध्यादेश निष्क्रिय भएको हो। प्रतिस्थापन विधेयक ल्याउन भएको ढिलाइ र प्रतिपक्षी दलहरूको अवरोधका कारण अध्यादेश निष्क्रिय अवस्थामा पुगेको हो ।
वैशाख २४ गते प्रतिनिधि सभामा अध्यादेश पेस भएको थियो। सरकारले असार ५ गते प्रतिस्थापन विधेयक राष्ट्रिय सभा सचिवालयमा दर्ता गरेको थियो। अध्यादेश निष्क्रिय भएसँगै मिटरब्याज कसुरमा हुने कारबाहीमा कानुनी शून्यता भएको छ। अध्यादेश निष्क्रिय भए पनि विचाराधीन विधेयक भने यथावत् नै रहने छ। बुधबार अन्तिम दिन विधेयक पारितको कार्यसूची तय भए पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका प्रतिपक्षी दलको अवरोधका कारण प्रक्रिया पूरा हुन सकेन।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक जना लेखकको पुस्तक विमोचनका क्रममा दिएको अभिव्यक्तिमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आपत्ति जनाएका हुन्। तीनै दलले प्रतिनिधि सभामा प्रमको अभिव्यक्तिलाई लिएर विरोध गरेका थिए। राप्रपाले रोस्ट्रम घेराउ नै गरेको थियो। अवरोधका कारण प्रतिनिधि सभा बैठक असार २२ गतेसम्म र राष्ट्रिय सभा बिहीबारका लागि स्थगित भएका छन्।
