काठमाडौं । ललितानिवासको एक सय ४३ रोपनी जग्गा हिनामिनामा संलग्न केही अभियुक्तलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ, केही फरार छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त साढे तीन वर्षअघि नै अभियुक्तविरुद्ध मुद्दा दायर गर्दै जग्गा जफत गर्न भनेको थियो । तर, सरकारले चार वर्षअघि नै रोक्का राख्ने निर्णय गरेको सो जग्गामा व्यक्तिका महलदेखि अभियुक्तका विशाल गोदामसम्म छन् । अहिले पनि भोगचलन उनीहरूले नै गरिरहेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतका अनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले मात्रै ललितानिवासको २९ रोपनी जग्गा हडपेका थिए । जसमध्ये १४ रोपनी १० आना एक पैसा दुई दाम जग्गामा उनले भाटभटेनी सुपरमार्केटको विशेष गोदाम बनाएका छन् । गोदामको पक्की संरचना मात्रै आठ रोपनी एक आना एक पैसा दुई दाममा फैलिएको छ । नयाँ पत्रिकाबाट











