काठमाडौं । मलेशियाले मृत्युदण्डको सजाय हटाएको छ । गम्भीर अपराधका घटनामा दिइने अनिवार्य मृत्युदण्डको सजाय हटाउने निर्णय आजबाट कार्यान्वयनमा आएको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् । हत्या र आतङ्कवाद जस्ता गम्भीर अपराध दोषी ठहर हुनेहरूलाई अब ४० वर्षसम्मको कारावास हुने छ ।
असाधारण घटनाहरूमा भने मृत्युदण्डको सजाय सुनाउने अधिकार न्यायाधीशहरूसँग कायमै रहने छ। अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरन्याश्नलका अनुसार मलेशियामा मृत्युदण्डको सजाय सुनाइएकाहरूको सङ्ख्या झन्डै १३ सय रहेको अनुमान गरिएको छ।
गत अप्रिलमा मलेसियाको संसद्ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको थियो। मलेशियामा पछिल्लो तीन दशकमा १३ सयभन्दा बढी दोषीलाई फाँसी दिइएको छ।
मलेशियामा ३४ वटा अपराधमा मृत्युदण्ड दिइन्छ। तीमध्ये अप्रिल महिनाको ३ तारिख अघि ११ वटामा अनिवार्य मृत्युदण्ड दिइन्थ्यो। विद्यमान मृत्युदण्डको कानुनी व्यवस्था उल्टाउने प्रक्रिया गत जुनमा सुरु भएको थियो।
मलेशियाको सरकारी तथ्याङ्क अनुसार त्यहाँ सन् १९९२ देखि २०२३को बीचमा करिब १,३१८ जना कैदीहरूलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको छ।











