काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका तत्कालीन महानिर्देशक गोपालबहादुर खड्कालाई दोषी ठहर गरेको छ । अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गर्दै खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र ९ करोड १९ लाख ६ सय ३४ रुपैयाँ जरिवाना तोकेको छ ।

विशेष अदालतका उपरजिष्ट्रार दिपेन्द्रनाथ योगीका अनुसार आजको आदेशअनुसार खड्काको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीका नाममा राखेको दुईवटा जग्गासमेत जफत गर्न विशेष अदालतले आदेश दिएको छ। साथै अख्तियार दुरुपयोग आयोगले मागदाबी गरेको बिगो बापतको रकमसमेत जफत हुन आदेश भएको छ ।

अख्तियारले २०७५ पुस २३ गते खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार रुपैंया बिगो कायम गरी मुद्दा दायर गरेको थियो। खड्काले पदमा रहँदा कानुनविपरीत कमाएको १८ करोडभन्दा बढी सम्पतिको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको थियो। सो अवधिमा उनले विभिन्न स्रोतबाट ८,६४,६९,७५१। दशमलव ५३ रुपैयाँ आर्जन गरेको देखिएको थियो।