दाङ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड भन्दा बढीको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेश गरेका हुन् ।

कुल बजेट मध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात ३३ दशमलव ८७ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार अर्थात ५७ दशमलव ४५ प्रतिशत छ र स्थानीय तहमार्फत वित्तिय हस्तान्तरणमार्फत ३ अर्ब ५८ करोड ९७ लाख अर्थात ८ दशमलव ८७ प्रशितत विनियोजन गरिएको छ ।

बजेटको स्रोततर्फ आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख उठाउने लक्ष्य दिइएको छ । संघीय सरकारबाट राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख प्राप्त भएको छ भने रोयल्टी ३९ करोड छ । स्थानीय तहबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने २ अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिलामन्त्री मास्कीले बताए ।

त्यस्तै संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपुरक अनुदानबाट ८४ करोड र विशेष अनुदानबाट ५६ करोड प्राप्त हुनेछ । चालु आबको मौज्दात ३ अर्ब तथा अन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान गरेको आर्थिक मामिलामन्त्री मास्कीले बताए ।

सरकारले मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम संचालन गर्न १ अर्ब बजेट विनियोजन गरेको छ । सीप, पुँजी र प्रविधिको विकास गरी रोजगार प्रवर्द्धन गर्न सरकारले थप ४ करोड बजेट विनियोजन गरेको छ ।
त्यस्तै स्थानीय बाली संरक्षण कार्यक्रम अर्न्तत प्रदेशका विभिन्न जिल्लाका लागि ६ करोड १८ लाख, पशु पालनका लागि ५ करोड, नश्ल सुधारका लागि २ करोड बजेट बिनियोजन गरिएको छ ।
बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्

Lumbini Final Budget