दाङ । सरकारकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालको कला सस्कृति र मौलिकता नयाँ पुस्तालाई बुझाउन अनिवार्य भएको बताएकी छन् ।
चलचित्र विकास बोर्डले दाङको घोराहीमा आयोजना गरेको प्रथम बाल चलचित्र महोत्सव उद्घाटन गर्दै उनले नयाँ पुस्तालाई देश चिनाउने अभियानलाई व्यापक बनाउनुपर्ने बताएकी हुन् । त्यसका लागि चलचित्र क्षेत्र महत्त्वपूर्ण आधार हुने शर्माले बताइन् ।
चलचित्र मनोरञ्जनको साधन मात्रै नभइ मानिसको दिल बदल्ने आधार भएकाले पनि यसको माध्यमबाट नयाँ पुस्तालाई देश चिनाउन सकिने मन्त्री शर्माले जोड दिइन् । नेपाल सस्कृतिको धनि देश भएकाले यहाँको कला सस्कृतिको अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिदै उनले यसमा चलचित्रको महत्त्वपूर्ण भूमिका हुने बताएकी हुन् ।
उनले चलचित्र आम मानिसको रोजाइको क्षेत्र बन्ने गरेको छ । चलचित्रले दर्शकलाई मात्र मनोञ्जन दिंदैन, यस क्षेत्रमा लागेर व्यक्तित्व निर्माण गर्न चाहनेहरुका लागि पनि चलचित्र महत्वपूर्ण क्षेत्र हो । चलचित्र क्षेत्रबाटै कयौं कलाकारहरुले आफ्नो व्यक्तित्व निकै उँचो बनाउँदै आएका छन् । उज्वल भविष्यको मीठो परिकल्पना गर्ने उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई चलचित्र क्षेत्रमा आकर्षित गर्न पनि यो महोत्सवबाट टेवा पुग्ने छ ।
नेपालमा यो प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव भए पनि अन्तर्राष्ट्रियस्तरमा नियमितरुपमा नै यस्ता महोत्सवहरु हुने गरेको उल्लेख गर्दै मन्त्री शर्माले नेपालबाट पनि बालबालिकाले बनाएका वा उनीहरुका बारेमा बनेका चलचित्र अन्तर्राष्ट्रिय महोत्सवमा पुर्याउने गरी अब तयारी थाल्नुपर्ने र त्यसका लागि पनि यो महोत्सव सहयोगी बन्ने विश्वास व्यक्त गरिन् ।
बालबालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरी उनीहरुलाई रचनात्मक र सिर्जनशील कार्यमा प्रेरित गर्न बालबालिका, उनीहरुका अभिभावक लगायत आम नागरिकलाई सचेत र जागरुक बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले त्यसका लागि पनि बालचलचित्र उपयोगी हुनसक्ने बताइन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा भएको उद्घाटनमा स्थानीय कला सस्कृति झल्काउने सास्कृतिक प्रस्तुति देखाइएको थियो । महोत्सव तीन दिनसम्म चल्ने बोर्ड सदस्य एवं कार्यक्रम संयोजक केएल बुढाथोकीले जानकारी दिए ।











