काठमाडौं । काठमाडौं जिल्ला अदालतले अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीको कारोबारको प्रचार गरेको आरोपमा पक्राउ परेका राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) सहित युट्युबर र कलाकारलाई ४ दिन हिरासतमा राख्न अनमुति दिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार अनलाइन बेटिङको प्रवर्द्धन गरेको आरोपमा पक्राउ गरेर ५ कलाकार र ३ जना युट्युबरलाई अदालतमा उपस्थित गराएर हिरासतमा राख्न अनुमति माग्दा अदालतले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

बिहीबार कलाकारहरु राजु पौडेल (राजु मास्टर), मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी),अलिस राई, र सरोज घिमिरेलाई पक्राउ गरेको छ । यस्तै, युट्युबर जलन घर्ती मगर र गणेश देवकोटालाई पनि बिहीबारै प्रहरीले पक्राउ गरेको थियो ।

फेसबुक पेज र यु्ट्युबमार्फत अनलाइनमा बन्देज गरिएको वान एक्स बेटिङको विज्ञापन गरेको उनीहरुमाथि आरोप छ । उनीहरुले वान एक्स बेटमार्फत करोडौंको सट्टेवाजी भएको प्रहरीको अनुसन्धानमा खुलेको छ । वानएक्स बेटको प्रचार गरेबापत पक्राउ परेका कलाकारहरूले ४० लाखसम्म लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।