काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो आयोजित विशेष समारोहका बीचमा पौडेलले शपथ लिएका हुन् ।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ गराएका हुन् ।
राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको सपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरे । पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।
