अच्युतराज दाहाल
प्राविधिक तथा व्यावसायिक शिक्षा मानव जीवनमा अपरिहार्य वस्तुको रुपमा मानव जंगली अवस्था देखिनै रहेको मानिन्छ । वन्यजन्तुको शिकार खेल्न, समूहको सुरक्षाको लागि तथा अन्य गतिविधिमा ढुङगा , काठ , धातु आदिको प्रयोग गरेको कल्पना गर्न सकिन्छ । महादेवको त्रिशुल, डमरु विष्णुको सुदर्शन चक्र, परशुरामको बन्चरो, रामको धनुष वान आदि हिन्दु धर्म शास्त्रमा उल्लेख भएका पौराणिक प्रविधिका हतियारहरु मानिन्छन । यि साधारण वस्तुहरुको प्रयोगलाई अझ बढि उपयोगि बनाउन मानव समाजले जंगली अवस्था देखिनै प्रविधिको प्रयोग गर्दै आएको देखिन्छ ।

शिकार खेल्न, शुरक्षित रहन ,खेतिपाति गर्न तथा आहाराको लागि विभिन्न पशुपंक्षीहरुको पालनपोषण र सहयोग लिएको देखिन्छ । जंगली अवस्थामा रहेका मानव समाज विस्तारै पशुपालन र खेतिपाति गर्दै आधुनिक समाज तर्फ क्रमसः अगाडि बढेको देखिन्छ । प्राचिन नेपालको स्वर्णयुग मानिने मल्लकालमा नेपाल हस्तकला ,मुर्तिकला, काष्ठकला, शिल्पकला जस्ता सिपहरु प्यागोडा शैलिको आर्किटेक्चर र सोमा आधारित मठ, मन्दिर, पौवा तथा घरहरुको निर्माण , तामा तथा फलाम र अन्य धातुका सामाग्रीहरुको प्रचुर मात्रामा निर्माण तथा प्रयोग भएको इतिहास सुन्दा र नेपालकै अरनिको बात सिर्जित प्यागोडा शैलीका भवनहरु नेपालमा मात्र नभई तिव्वतमा समेत प्रशिद्द भएको इतिहाँस सुन्दा सो समयमा नेपाल साच्चैनै प्राविधिक तथा व्यावसायिक शिक्षामा विश्व मानचित्रमा अग्रणि अवस्थामा रहेको मानिन्छ ।

छुवाछुत प्रथालाई नजरअन्दाज गर्ने हो भने नेपाली समाजमा जातिय आधारमा बाधिएका व्यवसाय तथा सिपहरु समाजलाई व्यवस्थित ,आत्मनिर्भर ,स्वाभलम्वि बनाउने रणनितिको रुपमालिएको मान्न सकिन्छ ।

भारतमा व्यापार गर्न भनि आएका इष्ट इन्डिया कम्पनी सरकारको आगमनपछि नेपालमा राणा शासनको बखतमा समेत नेपाली युवाहरुलाई प्राविधिक तथा व्यावसायिक शिक्षा औपचारिक रुपमा विभिन्न मुलुकहरुमा लगि प्रदान गरिएको इतिहास भेटिन्छ । भाषा, साहित्य, कला ,गणित आदि अध्ययन गर्नको लागि सिमित संख्यामा विद्यालयहरु खुलेको र विद्यालय स्तरिय औपचारिक शिक्षा सिमित वर्गहरुलाई मात्रै प्रदान गरिएको दस्तावेजहरु पढ्न सकिन्छ । नेपालमा राण शासनको अन्त्य र प्रजातन्त्रको सुरुवात भएपछि सबै नेपली नागरिकहरुलाई शिक्षित बनाउने भनि गाउँ–गाउँमा ,टोल–टोलमा स्वघोषित बिद्यालयहरु र स्वघोषित स्वयमसेवक शिक्षकहरुवाट बाह्रखरी शिक्षा व्यापक रुपमा प्रदान गर्न थालियो । स्वदेशमै थरी थरीका निकायहरु ,कार्यालयहरु ,कलकारखानाहरु खुल्न थाले । विस्तारै औपचारिक शिक्षा प्राप्त गरेका व्यत्तिहरुले सहजै सरकारी जागिरमा प्रवेश पाउनथाले । जागिरको बढि सम्भावना भएको साधारण शिक्षातर्फ नेपाली अभिभावकहरुको बढि चासो र संलग्नता भएको पाइन्छ ।

जागिरको बढि अवसर भएकै कारण साधारण शिक्षामा आकर्षण बढेको सकारात्मक सन्देशले हाम्रो समाजमा उद्धमशिलता र प्राविधिक तथा व्यावसायिक शिक्षालाई पछि पारेको पाइन्छ ।

कुटो, कोदालो, हलो, कुलो, कुलेसोको भरमा, उद्धमशिलता गरिरहेको नेपाली समाज तथा व्यवसायिक निपुणता भएको नेपाली समाज र प्रविधि मैत्री नेपाली समाज विस्तारै ह्रास हुदै गएको देखिन्छ । फलत जागिरको अवसर न्यून भई सकेको वर्तमान परिप्रेक्ष्यमा औपचारिक शिक्षा प्राप्त गरेका तमाम नेपाली यूवाहरु स्वदेशमा बेरोजगार देखिन थाले । उद्यमशिलता, स्वरोजगार, पूर्खौली व्यवसाय बिर्सिसकेका नेपाली यूवाहरुलाई नेपालमै उद्यमशिल, स्वरोजगार तथा पूराना व्यवसायहरुमा सक्रिय सहभागिता गराउन नसक्दा कृषि पढेका युवा समेत समेत आफ्नो खेतिवारी बाझो राखि बैदेशिक रोजगारी तर्फ पलायन हुने क्रम बढ्दै गयो । सुरुसुरुमा न्युन संख्यामा बैदेशिक रोजगारिमा जाने युवाहरु एक दशककै अन्तरालमा लाखौको संख्यामा पुग्नथाले । युवाहरुको पलायनले नेपालको आफ्नो देशभित्र हुने उत्पादन घट्न थाल्यो फलस्वरुप निर्यात घट्यो आयात बढ्यो र बैदेशिक व्यापारमा निरन्तर घाटामा गइरहेको देखिन्छ ।

आफ्नै देश भित्र उत्पादन बढाउन पुनः नेपाली युवाहरुलाई उद्यमशिल बनाउने, उत्पादनको बजार व्यवस्थापन गर्ने, नेपालमा रहेका व्यावसायहरुलाई प्रवद्धनगर्दै लैजाने, कषि, पशुपालन आदिलाई व्यवस्थित गर्दै लैजाने, स्वदेशमै स–साना कलकारखानाहरु स्थापना, संचालन र पुनः संचालनगर्दै लैजाने, प्राविधिक तथा व्यावसायिक शिक्षालाई पहिलो प्राथमिकतामा राखि कुल ग्राहस्त उत्पादनमा शुन्य वा न्युन योगदान पुराइरहेका १०–५ को सरकारी जागिरको मानसिकता युवाहरुको दिमागबाट क्रमशः हटाउदै लैजाने आवश्यक देखिन्छ । औपचारिक शिक्षा भनेको जागिर खान वा वैदेशिक रोजगारमा जान मात्र नभई स्वदेशमै उद्दमशिल तथा स्वरोजगार हुन पनि हो भन्ने मानसिकता युवा तथा अभिभावकहरुमा बढाउनु पर्ने देखिन्छ ।

नेपालमा प्राबिधिक तथा व्यावसायिक शिक्षालाई बेला बेलामा प्राथमिकतामा राखेर कार्य गरेको पनि देखिन्छ । बि.सं.२००४ सालबाट आधार स्कुल, बि.सं.२०१५ बाट बहुउद्देश्यीय माध्यमिक बिद्यालय, बि.सं. २०२८ बाट अनिवार्य व्यावसायिक शिक्षा, बि.सं. २०३७ देखि प्राविधिक शिक्षालय र शिक्षा तथा मानव श्रोत बिकाश केन्द्र शिक्षा बिभाग अन्तर्गत ९–१२ प्राबिधिक धारमा प्राबिधिक तथा व्यावसायिक शिक्षा संचालन गर्नुलाई सरकारको सकारात्मक पहल कदमी मान्न सकिन्छ ।
छरिएर रहेका प्राबिधिक शिक्षा सम्बन्धि कार्यहरुलाई एउटै छानामा ल्याई अझ व्यवस्थित गर्न २०४५ मा प्राबिधिक शिक्षा तथा व्यावसायिक तालीम ऐन पारित गरि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद नामक स्वायत संस्थाको स्थापना गरिएको देखिन्छ । सीपमुलक तालीमहरु प्रदान गर्ने, सीप परिक्षण गरि सीप प्रमाणिकरण गर्ने, प्रि–डिप्लोमा तथा डिप्लोमा तहका प्राबिधिक कार्यक्रम संचालन गर्ने, कार्यक्रम संचालन गर्न आवश्यक नीति नियमावली, विनियमावली तर्जुमा गर्ने, पाठ्यक्रम तथा राष्ट्रिय व्यावसायिक सीप प्रमाणिकरण तयार तथा लागु गर्ने, गुणस्तर अभिवृद्धिका लागि न्युनतम मापदण्डहरु निर्माण सुपरीक्षण तथा मूल्यांकन गर्ने, जनशक्ति बिकाशका लागि प्राबिधिक प्रशिक्षण प्रस्तिष्ठान मार्फत प्रशिक्षक, म्यानेजरलाई बिभिन्न तालीमहरु प्रदान गर्ने आदि बिबिध कार्य एउटा छाना मुनि परिषदले गर्दै आएको छ । हाल परिषद संग केन्द्रमा केन्द्रीय कार्यालय, प्राविधिक प्रशिक्षण प्रतिष्ठान, परीक्षा नियन्त्रण कार्यालय, प्रदेशमा प्रदेश कार्यालयहरु र देश भर ६५ वटा आंगिक शिक्षालय, ५२ वटा साझेदारी शिक्षालय, ६४३ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम, ४२९ वटा निजि शिक्षालय र हजारौं संख्यामा छोटो अवधिका तालीम संचालन गर्ने संस्थाहरु संचालनमा छन् । राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लागु भए पश्चात बनेको मापदण्डले स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु र शिक्षालयहरु केहि संख्यामा बन्द भएको र केहि स्तर वृद्धिको प्रक्रियामा रहेका छन् ।

ठुलो संख्यामा सेवा दिन सक्ने क्षमता प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषदले राखेको भएता पनि वैदेशिक रोजगारमा लगभग २% मात्र दक्ष प्राविधिकहरु जाने तथ्यांक तथा स्वदेशमै पनि विदेशी प्राविधिकहरु ठुलो संख्यामा रहेको हुँदा परिषदको क्रियाकलापलाई घनिभूत समीक्षा गरि अझ बढी प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।
शिक्षा तथा जनस्वास्थ्य विज्ञ लेखक दाहाल इन्द्रेणी अनलाइनका स्तम्भकार हुन् ।