काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिंदैछ। भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपति पदमा पहिलोपटक निर्वाचित भएकी थिइन्। त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भएर राष्ट्राध्यक्षको जिम्मेवारीमा थिइन् । उनको पाँच वर्षे कार्यकाल आज रातिबाट सकिन लागेको हो।

पहिलो कार्यकालमा त्यति विवाद नभएपनि दोस्रो कार्यकाल विवादित बन्यो। उनी नेकपा एमालेको कार्यकर्ता जस्तो भएको आरोप लाग्यो। उनले संसद विघटनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएको आरोप लाग्यो। अन्तिममा सरकारले पठाएको नागरिकता विधेयक पनि राष्ट्रपति भण्डारीले रोकिदिइन्।

फागुन २५ गते निर्वाचित नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेलको शपथ ग्रहण भोलि हुँदैछ। सो अघि भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ २ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ।