काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्। शपथ ग्रहणको कार्यक्रम दिउँसो १ बजे हुने बताइएको छ। जसका लागि राष्ट्रपतिको कार्यालयले शीतल निवासमा विशेष समारोहको आयोजना गर्दैछ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि संघीय कानुन बमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।नवनिर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने जनाइएको छ।

पौडेल गत बिहीबार (फागुन २५ गते) राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उनको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुनेछ।पौडेलको शपथ ग्रहणसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले भने आज शीतल निवास छाड्ने कार्यक्रम रहेको छ। हिजो (आइतबार) नै आफ्नो कार्यकाल सकिएकी भण्डारी शीतल निवासबाट बूढानीलकण्ठ स्थित निजी निवास सर्ने छिन्।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार हिजो उनले आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष नेताहरूसँग भेटघाट गरेकी थिइन्।भेटघाटमा उनले आफ्नो राष्ट्रपतिको दुई कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन्।

भण्डारी २०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन्। यसपछि उनी २०७४ साल फागुन २९ गते पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन्।