यस बर्ष कक्षा ११ सञ्चालनको अनुमती पाएका विद्यालयहरुले ८ लाख रुपैंयाको भौचर भरेको प्रमाण शिक्षा विभागमा पेश गरेपछि मात्रै अनुमति पत्र प्राप्त गर्ने भएका छन् । यस अघि उच्च माध्यमिक शिक्षा परिषद्ले दिदैं आएको सम्बन्धनको काम शिक्षा ऐन संशोधन भएसँगै शिक्षा विभागमा सरे अनुसार विभागले प्रकृया शुरु गरेको हो ।

education-canter

सम्बन्धित जिल्ला शिक्षा कार्यालयको एक जना र विद्यालयका एक जना प्रतिनिधिको संयुक्त दस्तखतबाट मुद्धती खातामा जम्मा गरेको भौचरको प्रतिलिपि सहित सम्पर्क राख्न विभागले जिशकालाई निर्देशन दिएको छ । चार लाख रुपैंया ६ महिने र बाँकी ४ लाख तीन बर्षका लागि जम्मा गरेको हुनु पर्ने विभागको निर्देशनमा उल्लेख छ ।

यस अघि परिषद्ले तय गरेको शुल्ककै आधारमा रकम तय गरिएको विभागको सामुदायिक विद्यालय व्यवस्थापन शाखाका उपनिर्देशक योगेन्द्रप्रसाद बरालले बतायनुभयो । उक्त रकम दाखिला गरेको भौचरको प्रतिलिपि र जिल्ला शिक्षा कार्यालयको पत्र साथ सम्बन्धित विद्यालयका प्रतिनिधिलाई पठाउन विभागले जिशिकालाई निर्देशन दिएको छ । यो वर्ष थप ६० विद्यालयले कक्षा ११ सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।