काठमाडौँ, २९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै लामिछानेको सांसद पदसमेत खारेज गर्न माग गर्दै रिट परेको हो ।
लामिछानेविरुद्ध युवराज पौडेलले एकल तथा अधिवक्ताद्वय रविराज बसौला र नानीबाबु खत्रीले संयुक्त रिट दर्ता गराएका हुन् । उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी, लामिछाने, निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, गृह मन्त्रालय र मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएका छन् । सर्वोच्चले बुधबार नै रिट दर्ता गर्दै पुस ६ मा सुनुवाइका लागि संवैधानिक इजलासमा पेसी तोकेको छ ।
चितवन–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछानेले सन् २०१४ मा अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपालको नागरिकता प्रयोग गरी राजनीतिक दल गठन गरेको र नेपाली राहदानी लिएको दाबी गरिएको छ ।
लामिछानेले सन् २०१४ मार्च ५ (२०७० फागुन २१) मा ५१२९६६९८१ नम्बरको अमेरिकी राहदानी लिएको देखिन्छ । त्यसैमा नेपालको भिसा लगाएर नेपाल आएका उनले पुरानो नागरिकता प्रयोग गरेर २०१५ मे २७ (२०७२ जेठ १३) मा नेपालको राहदानी लिएको रिट निवेदकहरूको उल्लेख छ ।











