काठमाडौं, ७ साउन । व्यवस्थापिका संसदमा अविश्वासको प्रस्ताव र बजेटसँग आश्रित विधेयकमध्ये पहिले कुनलाई अगाडि बढाउने भन्ने विवादमा अल्झिएका दलहरु सहमतिको लागि शुक्रबार पनि छलफलमा व्यस्त छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेलको नयाँ प्रस्तावमा केन्द्रित रहेर दलहरु आन्तरिक छलफलमा जुटेका हुन् । पार्टीभित्र आन्तरिक छलफलपछि कांग्रेस, एमाले र माओवादीबिच दिउँसो १२ बजे संयुक्त छलफल गर्ने तयारी छ ।
दिउँसो २ बजे संसद बैठक बस्नुअघि प्याकेजमै सहमति जुटाउने प्रयास भइरहेको नेताहरुले बताएका छन् । बिहीबारको बैठकमा कांग्रेस नेता पौडेलले सहमति खोज्न बजेटसँग सम्बन्धित विधेयक पास गर्ने, संसदमा दर्ता अविश्वासको प्रस्ताव फिर्ता लिने, प्रधानमन्त्रीले राजीनामा दिने र नयाँ सरकार गठनको प्रक्रियामा जाने प्रस्ताव राख्नुभएको छ ।
प्रमुख दलबिच सहमति जुटाउँदै संविधान कार्यान्वयनलाई अघि बढाउन एकमुष्ट अर्थात प्याकेजमै सहमति गर्नुपर्ने उहाँको प्रस्तावमा अरु दलहरु पनि सकारात्मक छन् ।
विवाद समाधानका लागि प्रमुख दलका शीर्ष नेताले बिहीबार दिनभरी नै छलफल गरे पनि कुनै निष्कर्ष निस्कन नसकेपछि संसद्को बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
