काठमाडौं, २५ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न नसक्ने बताएका छन् ।

काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेपालले कसैलाई दोष नदिई कमीकमजोरी हटाएर अघि बढन सरकारलाई सुझाए । ‘सरकारले आफूलाई समीक्षा गर्दै अघि बढ्नु पर्दछ। एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न सक्दैन। गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन। संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन’ उनले भने ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले तीनवटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पारे।