इन्द्रेणी संवाददाता
दाङ, २५ मंसिर । दाङ तुलसीपुरका एक व्यापारीमाथि यौन प्रस्ताव राख्दै रकम बार्गेनिङ गर्ने दुई महिलासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दाङ गढवा गाउँपालिका ६ घर भई हाल तुलसीपुर उपमहानगरपालिका ६ दशरथटोल बस्ने अनुष्का सिंह भनेर चिनिने ३५ वर्षकी कृष्णा गहतराज, तुलसीपुर उपमहानगरपालिका १८ ग्वारखोला बस्ने वर्ष ३८ की कृष्णा कुमारी बस्नेत र घोराही उपमहानगरपालिका १० नारायणपुर बस्ने २६ वर्षका जनक भन्ने रुद्रबहादुर केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उनीहरुले ती व्यापारीलाई बलात्कारको मुद्दा हाल्ने भन्दै ठूलो रकमको बार्गेनिङ गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरुलाई ती पीडित व्यापारीको उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले करिव ५ करोडको वार्गेनिङ गर्दै आएको खुल्न आएको छ । पक्राउ पर्ने तिनैजनामाथि प्रहरीले अपराधिक लाभ कसुरअन्तर्गतको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।











