काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउने पक्षमा उभिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको नेकपा (एकीकृत समाजवादी) को बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष माधवकुमार नेपालले देश दक्षिणपन्थी दिशातिर जाने खतरा रहेको भन्दै आफूहरुले सतर्क हुनुपर्ने आवश्यकताको महसुस गरेको बताए । उनले गठबन्धनका दलहरुका बीचमा भइरहेको सहकार्यलाई अगाडि बढाएर लानुपर्ने बताए । त्यस्तै सचिवालय बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्ने माग राख्नुभएको सन्दर्भमा सो विषयमा समेत छलफल भएको उनले जानकारी दिए ।

‘हाम्रो पार्टीले देशभर पाएको मतको छलफल गर्‍यौँ । इलाम र उदयपुरबारे छलफल गर्‍यौँ । इलाममा अनेकौँ खालका विसंगतिहरु देखिए । विसंगति देखिएको सन्दर्भमा उम्मेदवार हुनुभएका झलनाथ खनालले गम्भीर आपत्ति जनाएर वक्तव्य दिनुभएको सन्दर्भमा कुनै कानूनी उपचारमा जाने र पुनः

मतदानको माग गर्ने कुरा उहाँले उठाउनुभएको छ । त्यस बारेमा छलफल भएको छ । राष्ट्रिय राजनीति कुन दिशातर्फ अगाडि बढ्छ भन्ने कुराको सन्दर्भमा हामीले गम्भीर चिन्तन, मनन गर्‍यौँ । देश कतै दक्षिणपन्थी दिशातिर त जाँदैन भन्ने कुरालाई हामीले गम्भीरताका साथ लिनुपर्ने र सतर्क हुनुपर्ने आवश्यकता महसुस गर्‍यौँ । यस हिसाबमा गठबन्धनका दलहरूसँगको हाम्रो सहकार्य छ, त्यो सहकार्यलाई अगाडि बढाएर लैजानुपर्छ भन्ने हामीले ठानेका छौँ,’ उनले भने ।

गठबन्धनका कारण प्राप्त गरेका उपलब्धिहरूलाई रक्षा गर्दै आगामी दिनमा पनि गठबन्धनकै भावनाअनुसार काम गर्ने पार्टीको निष्कर्ष रहेको स्पष्ट पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले बताए । ‘आज जे–जस्तो मत परिणाम हामीले प्राप्त गर्‍यौँ । यो मतपरिणाम हामीले सोचेजस्तो छैन । तर सोचेजस्तो छैन भन्दैमा हामीले गठबन्धन सँगसँगै लागेर गठबन्धनका कारणले प्राप्त गरेका उपलब्धिहरुलाई रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावनाअनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने ठाउँमा यो निष्कर्षमाहामी पुगेका छौँ,’ उनले भने । निर्वाचनको समग्र समीक्षा भने सबै जिल्लाहरुबाट रिपोर्ट आइसकेपछि आगामी बैठकहरूमा गरिने उनले बताए ।