इन्द्रेणी संवाददाता
दाङ, १३ मंसिर । संस्थागत विद्यालयहरुको छाता संगठन प्याव्सन घोराही नगर समितिले ‘प्याब्सन घोराही रनिङ सिल्ड २०७९’ आयोजना गर्दैछ । रनिङ सिल्ड मंसिर १५ गतेदेखि १७ गतेसम्म तीन दिन चल्नेछ ।

विषेश गरी कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई खेलप्रति अभिप्रेरित गर्ने र खेलप्रतिको असक्षमतालाई हटाउदै खेल खेल्ने सीप विकास गर्न नेपालमै पहिलो पटक आयोजना गरिएको ‘प्याव्सन घोराही रनिङ सिल्ड २०७९’ मा घोराही उपमहानगरपालिकाभित्र रहेका ५८ संस्थागत विद्यालयका विद्यार्थीहरु सहभागी हुने प्याव्सन घोराही नगर समितिले जनाएको छ । समितिले आज मंगलवार घोराहीमा पत्रकार सम्मेलन गरी रनिङ सिल्डका बारेमा जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा रनिङ सिल्डबारे जानकारी दिदै प्याव्सन घोराही नगर समितिका अध्यक्ष विरेन्द्र चन्दले आजका दिनसम्म करीव ३६ वटा स्कूलले खेलमा सहभागीताका लागि नाम दर्ता गराइसकेको र यस क्षेत्रभित्रका रहेका करीव ९० प्रतिशत संस्थागत विद्यालय खेलमा सहभागी हुने अपेक्षा व्यक्त गरे ।

रनिङ सिल्डअन्तर्गत भलिबल छात्र, कपडी छात्रा, दौड १००, २००, ४००, ८०० र १५०० मिटर छात्र/छात्रा, रिले दौड, लङजम्प, ट्रिपलजम्प, हाइजम्प छात्र/छात्रा, सटफुट, ज्याब्लिङ थ्रो छात्र/छात्रा खेल हुने छन् । त्यस्तै कक्षा ७ सम्मका विद्यार्थीका लागि ६० मिटर दौड छात्र/छात्रा, लङजम्प छात्र/छात्रा हुने छन् ।

खेलको उद्घाटनका दिन घोराहीका विभिन्न चार स्थानबाट विद्यार्थीसहितको ¥यालीको आयोजन गरिने र खेल मैदान भरतपुरमा पुगी मार्च पास गरिने अध्यक्ष चन्दले जानकारी दिए । सिल्डमा विजयीहरुलाई आकर्षक विभिन्न मेडल्सहरुको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दुर्गालाल केसीले रनिङ सिल्डको सफलताका शुभकामना दिएका थिए ।