काठमाण्डौ, ५ साउन । संसदमा आउने सम्भावित गतिरोधको समाधानका लागि पहल थाल्नु भएका सभामुख ओनसरी घर्तीले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग भेट गर्नुभएको छ । बिहान भएको भेटमा उहाँले संसदको कार्यसूचिलाई लिएर दलहरुबिच बढेको विवाद छिटो समाधान गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गर्नुभएको हो ।

नेपालको-सांसद-भवन

भोलि बस्ने संसद बैठकलाई सहमतिका आधारमा नै सञ्चालन गर्न भेटवार्ता थाल्नु भएका घर्तिले प्रचण्डसंगको भेटमा प्रधानमन्त्रीसंगको छलफल र निकासको विषयमा कुराकानी गर्नुभएको हो । हिजो प्रधानमन्त्री ओलीसँग एक घण्टा छलफल भएको थियो । भोलिको संसद बैठकमा प्रधानमन्त्री विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूचि छ ।

तर बजेटसँग आश्रित विधेयक छलफल गर्ने यसअघिको कार्यसूचि हटाएर सभामुखले कांग्रेस र माओवादीको दबाबमा अविश्वास प्रस्तावमाथि छलफल गर्न लागेको भन्दै एमालेसहित सत्तारुढ दलले आपत्ति जनाएका छन् । उहाँले आजै कांग्रेस सभापति शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्ने कार्यक्रम छ ।।