काठमाडौ ४ साउन । हरेक आर्थिक बर्षमा बुझाउनु पर्ने आफ्नो सम्पत्ति बिवरण बुझाउन आलटाल गर्ने शिक्षकको संख्या बर्षेनी बढ्दो छ । आर्थिक बर्ष २०६८÷६९ मा ८ हजार १ सय शिक्षकले बिबरण बुझाएका थिएनन् भने गत आर्थिक बर्षमा यो संख्या बढेर ९ हजार ४ सय ८७ पुगेको छ ।
शिक्षकको अटेरीपना तथा नबुझाए पनि के हुन्छ र रु भन्ने बुझाईले गर्दा संख्या बढ्दै गएको बताईएको छ । उक्त क्रमलाई कम गर्न यस बर्ष आफूहरु अझ धेरै सकृय हुने किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले बताउनुभयो । आर्थिक बर्षको पहिलो दिनबाटै बिवरण संकलनको काम शुरु भएको र शिक्षकहरुको संख्या दिन दिनै बढ्दै गएको उहाँले बताउनुभयो ।
बिवरण बुझाउँदा खामबन्दी गरेर बुझाउनु पर्ने भएकाले शिक्षक आफैं उपस्थित हुन आवश्यक नरहेको पनि उहाँले बताउनुभयो । कितावखानाले तोकेको ढाँचामा खामको बाहिर पट्टी नाम, थर, पद र संकेत नम्बर लेखेर हुलाक मार्फत वा अरु कोही सहयोगी मार्फत पठाए पनि हुन्छ ।
समयमा बिवरण नबुझाउने शिक्षकलाई ५ हजार रुपैंया जरिवाना गर्ने प्रावधान छ । तोकिएको पहिलो ६० दिन भित्र बिवरण बुझाउन नसक्ने शिक्षकले त्यसको उचित कारण देखाएर बिवरण भर्न पाउँ भनि निवेदन दिएमा थप ३० दिन उपलब्ध गराउन सक्ने प्रावधान छ । तर यसका लागि सम्बन्धित निकाय वा अधिकारीबाट उपयुक्त कारण खुलाई निवेदन दिनु पर्ने हुन्छ । शिक्षकले भदौ २८ गते भित्र बिवरण बुझाउनु पर्ने हुन्छ ।
शिक्षक कितावखानासंग अहिले देशभर १ लाख ७ हजार ८ सय ६० शिक्षकको बिवरण छ । अस्थायी तथा करार र अन्य पदका शिक्षकको बिवरण भने सम्बन्धित जिल्ल शिक्षा कार्यालय मार्फत मन्त्रालयमा पठाईने ब्यवस्था छ ।।