शिव डुम्रे
बुटवल, ३ साउन
विना विकल्प सर्लाहीको सागरनाथ सुकुम्बासी बस्तीमाथि डोजर लगाएर सरकारले अमानविय कार्य गरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । नेकपा माओवादीले बुटवलमा आयोजना गरिएको अन्तरक्रियाका कार्यक्रममा सुकम्बासीमाथि राज्यद्वारा गरिएको दमन र पुर्नवासको विषयमा बक्ताहरुले आफ्ना धारणा राखेका थिए ।
केन्द्रीय कार्यक्रमअनुसार आयोजना गरिएको कार्यक्रममा नेकपा माओवादीका रुपन्देही सेक्रेटरी शरद ओलीले ‘हिजो काठमाडौं कब्जा गर्न जनसेनालाई आदेश दिने शक्ति बस्नेतले गृहमन्त्री हुँदा डोजर लगाएर सुकम्बासीको उठिबास लगाएका छन्, यसले बस्नेत र उनको पार्टी प्रतिक्रियावाद पुगेको छ’ भने । शरदले सुकम्बासीको उचित व्यवस्था नभए आफ्नो पार्टीले डोजर लगाउनेहरुको जग्गा कब्जा गरी बसाल्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका प्रचार विभाग प्रमुख तेजेन्द्र केसी, नेपाली कांग्रेसका जिल्ला नेता खिलराज रेग्मी, नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार भुलबहादुर सुनारी, माक्र्सवादी विचार मञ्चका विनबहादुर कुँवर, माक्र्सवादी अध्ययन केन्द्रका आरसी चापागाई, नेकपा माओवादीका सल्लाहकार ज्योतीलाल वि.क., बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय सचिव गोविन्द खनाल, नेपाल पत्रकार महासंघका शेरबहादुर केसी लगायतले राज्यले नागरिकलाई न्याय तथा समानता दिनु साटो उल्टो गरेर सुकुम्बासीहरुलाई अन्याय गरेको भन्दै उचित व्यवस्थापनको गर्नु पर्ने माग गरे ।
सरकारले असार २१ गते सर्लाहीको सागरनाथमा रहेको सुकुम्बासी बस्तीमा डोजर बालीनालीसहित ५ दर्जनभन्दा धेरै घरहरु पूर्णरुपमा नष्ट गरेको थियो । आफूहरुको उचिव व्यवस्थापन नहुँदा सम्म डोजर नलगाउन माग गर्दा प्रहरीले गोली चलाउँदा ६० जना घाईते भएका थिए । जसमा ५ जनाको अवस्था गम्भीर छ । कार्यक्रमका बक्ताहरुले २०५० सालदेखी भोगचलन गर्दै आईरहेका सुकम्बासीमाथि अमानविय व्यवहार गरेको भन्दै विरोध र आन्दोलनका कार्यक्रममा एक्यवद्धता जनाएका थिए ।।