इन्द्रेणी संवाददाता

दाङ, साउन ३ ।
दाङमा सामुदायिक वन उपभोक्ता समूहको संख्या ५१६ पुगेको छ । गत आर्थिक बर्षमा थप ४ वटा नयाँ वन समूह दर्ता भइ समूहमा हस्तातरण भएपछि दाङमा सामुदायिक वन समूहहरुको संख्या ५१६ पुगेको हो ।ban
गत आर्थिक बर्षमा जिल्ला वन कार्यालयमा दर्ता भइ समूहमा हस्तान्तरण हुने वन समूहमा राजपुर गाविस गौरियानाका चित्रकला हरियाली, काभ्रे गाविसको सल्लेरी, लमही नगरपालिका बनगाउँको नाराणेश्वरी  र सतबरिया गाविसको सीमपानी सामुदायिक वन रहेको सहायक वन अधिकृत गोकुलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

नयाँ सामुदायिक वन मध्ये सवै प्राकृतिक वन रहेका छन । दाङमा रहेको कुल १ लाख ९२ हजार १ सय ५५ हेक्टर वन क्षेत्र मध्ये ५४ प्रतिशतभन्दा बढी वन क्षेत्र सामुदायिक वन समूहका रुपमा हस्तान्तरण भएको सहायक वन अधिकृत चौधरीले जानकारी दिनुभयो ।

गत आर्थिक बर्षमा दाङका ९० वटा सामुदायिक वन समूहहरुको कार्ययोजना परिमार्जन गरिएको छ । अझै पनि दाङका करिव २ सय सामुदायिक वन समूहको कार्ययोजना परिमार्जन गर्न बाँकी रहेको छ । गत आर्थिक बर्षमा कार्यालयले कार्ययोजना परिमार्जन गर्ने लक्ष्य अनुसार सतप्रतिशत वन समूहको कार्ययोजना नविकरण गरेको कार्यालयले जनाएको छ ।