काठमाडौं, ५ माघ । कोरोना संक्रमण मंगलबार अहिलेसम्मकै धेरै देखिएको छ । पछिल्लो २४ घन्टामा परीक्षण गर्ने २२ हजार आठ सय २८ मध्ये १० हजार दुई सय ५८ जनामा संक्रमण देखिएको छ । यो क्रम अर्को साता अझै बढेर उच्च बिन्दुमा पुग्ने स्वास्थ्य मन्त्रालयकै प्रक्षेपण छ । यसअघि २८ वैशाखमा एकैदिन सबैभन्दा धेरै नौ हजार ती सय १७ जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य मन्त्रालयले तेस्रो लहरको संक्रमण २६ जनवरी अर्थात् १२ माघमा उच्च बिन्दुमा पुग्ने प्रक्षेपण गरेको छ । दैनिक वृद्धि भएको संक्रमण, अन्य देशहरूको संक्रमण अवस्था, परीक्षणलगायत विभिन्न प्राविधिक विषयलाई आधार मानेर मन्त्रालयले यस्तो प्रक्षेपण गरेको हो ।

पछिल्ला दिन कोरोना परीक्षण बढेको छ । पहिलो लहरमा मानिसहरू त्रसित थिए, त्यसैले परीक्षण पनि धेरै भयो । दोस्रोमा तुलनात्मक रूपमा कम परीक्षण भयो । अहिले ओमिक्रोनको त्रास बढेसँगै परीक्षण गर्न आउने बढिरहेका छन् । प्रायः रुघा, खोकी र ज्वरोको समस्या भएर आउने गरेका छन् । अधिकांश संक्रमित पाँच दिनमै ठीक भइरहेका छन् ।

मन्त्रालयको प्रक्षेपणअनुसार २२ देखि २९ जनवरी अर्थात् ८ देखि १५ माघसम्म नेपालमा धेरै संक्रमण देखिनेछ । १२ माघमा सबैभन्दा धेरै १९ हजार ६ सय ९५ जनामा संक्रमण पुष्टि हुने र तीन सय ९४ जनालाई क्रिटिकल केयरको आवश्यकता पर्ने अनुमान छ । मन्त्रालयले तेस्रो लहरमा नौ हजार दुई सय ७० जना अस्पताल भर्ना हुने र हजारभन्दा बढीमा जटिल प्रकारको संक्रमण देखिने प्रक्षेपण पनि गरेको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। कृष्ण पौडेलले माघको दोस्रो साता दैनिक संक्रमितको संख्या २० हजारवरिपरि पुग्न सक्ने बताए ँ नयाँ पत्रिकामा खबर छ। संक्रमण बढ्दा अस्पतालमा भर्ना हुने दर पनि स्वतः बढ्ने उनको भनाइ छ । फागुनको पहिलो सातापछि भने संक्रमण घट्न थाल्ने मन्त्रालयले जनाएको छ ।

हालसम्म भने अस्पताल आउने संक्रमित नबढेको अस्पतालहरूले जनाएका छन् । शिक्षण अस्पतालका कोभिड संयोजक डा। सन्तकुमार दासका अनुसार बिरामीको चाप बढेको छैन, तर फाट्टफुट्ट आउन भने थालेका छन् । देशको एक मात्र सरुवारोग अस्पताल टेकुमा पनि बिरामी बढेका छैनन् । अस्पतालका अनुसार अहिले बेड खाली नै छन् । त्यस्तै, पाटन र सशस्त्र प्रहरी अस्पतालमा पनि बिरामी बढेका छैनन् ।