रोल्पा, ५ माघ । रोल्पामा पहिलो पटक व्यावसायिक रुपमा कालिज पालन शुरु भएको छ । रोल्पाको परिवर्तन गाउँपालिका–५ राङकोटका मिलन रोकाले केही महीना अघि युटुबमा कालिज पालनको बारेमा भिडिओ देखे ।

जिल्लामै केही नयाँ व्यवसाय गर्ने सोच बनाइरहेका रोकाका लागि उक्त भिडिओ नै नयाँ व्यवसायको मार्गदर्शन बन्न पुग्यो र उनले जिल्लामै पहिलो पटक व्यवसायिक कालिज पालन शुरु गरे।

फलस्वरुप सदरमुकाम लिबाङमा जग्गा भाँडामा लिएर करीब २० लाख लगानीमा कालिज पालन व्यवसाय शुरु गरेको रोकाले बताए । ‘खोर निर्माण, चल्ला खरीद, जग्गा भाडा गरेर २० लाख बढी लगानी भइसक्यो’ रोकाले भने ‘अझै थप लगानीकै क्रममा छ ।’

हाल व्यक्तिगत लगानी मात्रै रहेको यो व्यवसायमा केही अनुदान पाए हेचरी मेशिन लिएर कालिजको चल्ला यहि उत्पादन गर्ने रोकाको योजना छ ।

कालिजको मासु स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । तर यसको लागत अनुसार मूल्य केहि महँगो पर्ने भएकाले जिल्लामा कम खपत हुने अनुमान गरिएको छ । रोकाले एउटा कालिजलाई दुई हजारका दरले विक्री गरिरहेका छन् ।