इन्द्रेणी संवाददाता
दाङ, ४ माघ । मगर समुदायमा प्रचलित पैसेरु नाँचको तालिम समापन गरिएको छ । साबिक राप्तीका रोल्पा, रुकुम, सल्यान सहितका अन्य जिल्लामा नाचिँने यो नाँच संरक्षण गर्न सुरु गरिएको हो ।

घोराही उपमहानगरपालिका वडा नं.१४ ले सात दिनको तालिम आयोजना गरी पैसेरु नचाउँन सुरु गरेको थियो । मगर समुदायमा प्रचलित पैसेरु नाँच दाङमा बस्दै आएका थारु,मुस्लिम र मधेसी समुदायलाई सिकाउँन तालिम दिईएको हो । तालिमको पुर्वसभामुख कृष्णबहादुर महराले समापन गरे ।

सो अवसरमा महराले कला संस्कृति कुनै जात तथा समुदाय बिशेषको नहुने भन्दै कला संस्कृति देशका धरोहर भएको बताए । रोल्पा छँदा छर,छिमेकी साथीभाई सबै पैसेरु नाँच्ने गरेको स्मरण गर्दै यो नाँचको महत्व बेग्लै रहेको बताए ।

कार्यक्रममा वडा अध्यक्ष शक्तिराम डाँगीले महिलामा पछिल्लो समय जागरण पैदा भएको बताए । घर भित्र खुम्चेर बस्ने महिलाहरु घर बाहिर निस्किदा उनीहरुमा आमुल परिर्वतन हुने औल्याए । मगरभाषा साहित्य संस्कृति प्रतिष्ठानका अध्यक्ष कृतिमान पूनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भिमकुमारी पुनले गरेकी थिइन् ।