काठमाडौं, २७ पुस । एमालेको राजनीतिसँग दोस्रोपटक ‘डिभोर्स’ गरेका पूर्वउपप्रधानमन्त्री तथा कम्युनिस्ट नेता वामदेव गौतम राष्ट्रिय राजनीतिमा चार महिनादेखि गुमनाम छन् । १९ भदौमा उपाध्यक्षसहित पार्टी सदस्यसमेत नरहने गरी एमालेबाट राजीनामा दिएर पार्टी परित्याग गरेका नेता गौतम राष्ट्रिय राजनीतिमा निष्क्रिय छन् ।

पार्टी र राजकीय सत्ता दुवैतिर प्रमुख कार्यकारी पदमा आकांक्षा राखेर तत्कालीन एमाले र माओवादी केन्द्रको एकीकरणपछि लगातार चर्चामा आएका गौतम तत्कालीन नेकपा र एमालेको विभाजनपछि भने गुमनाम बनेका हुन् । नेकपामा विभाजनको रेखा कोरिएपछि अघिल्लो २५ पुसमा राष्ट्रिय एकता अभियान घोषणा गरेर पछिल्लोपटक चर्चामा आएका गौतमको प्रयास २३ फागुन ०७७ मा सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अघोषित रूपमा ‘ब्रेक’ लागेको थियो ।

नेकपा विभाजनको परकम्प गत भदौसम्म पुग्दा माओवादी केन्द्र र एमाले दुवै सग्लो नहुने गरी विभाजन भएपछि भने गौतमको अभियानमै ‘पूर्णविराम’ लाग्यो । उनले बनाएको एकता अभियान निष्क्रिय बनेको छ भने त्यहाँ संगठित बनेका थुप्रै नेता–कार्यकर्ता पनि एमाले र एकीकृत समाजवादीतिरै लागेका छन् । कहिलेकाहीँ राष्ट्रिय राजनीति र समसामयिक घटनाक्रमबारे वक्तव्य र सामाजिक सञ्जालबाट धारणा राख्ने गरेका गौतम एमाले परित्याग गरेपछि मौनजस्तै छन् । गौतम टाकुरामा एक्लै छन् ।

राष्ट्रिय राजनीतिमा चर्चामा आइरहने हठी र महत्‍वाकांक्षी नेता गौतमको पछिल्लो निष्क्रियता राजनीतिक वृत्तमा चासोको विषय बनेको छ । एमाले परित्याग गरेपछि राजनीतिमा निष्क्रिय गौतम के गर्दै छन् र उनका योजना के छन् जस्ता विषयमा कुनै वेलाका उनी निकटस्थ नेता–कार्यकर्ताहरूले समेत प्रस्ट जानकारी पाउन छाडेका छन् ।

पछिल्लोपटक अंग्रेजी नयाँ वर्ष सन् २०२२ मा श्रीमती तुलसासहित बसेर सलाम गरिएको तस्बिर पोस्ट गरेर गौतमले सबैलाई शुभकामना दिएका छन् । त्यसबाहेक उनले फेसबुक पेजमा पनि कुनै घटनाक्रमबारे टिप्पणी गरेका छैनन् । तर, नेता गौतम करिब दुईतिहाइ मत पाएको तत्कालीन नेकपा तीन समूहमा विभाजित भएकाले फेरि पनि एकता अभियानमा सक्रिय हुने मनस्थितिसहित अनुकूल समयको पर्खाइमा रहेको परिवार र सचिवालयका सदस्य बताउँछन् ।

‘पार्टीबाट राजीनामा दिए पनि उहाँ नेपालमा छरिएर रहेका सबै कम्युनिस्ट पार्टीहरूलाई एकजुट बनाउनुपर्छ भन्ने सोचमै हुनुहुन्छ । एमाले परित्याग गरे पनि उहाँले कम्युनिस्ट पार्टी त्याग्नुभएको छैन । आफैँले गठन गरेको राष्ट्रिय एकता अभियान उहाँको छँदै छ,’ गौतमपत्नी एमाले सांसद तुलसा थापाले नयाँ पत्रिकासँग भनिन्, ‘नेकपा विभाजनपछि एमाले र माओवादी केन्द्रबीच तत्काल एकता भइहाल्ने स्थिति नरहे पनि एकता हुनुपर्छ भन्ने उहाँको मान्यता छ । त्यसैले राष्ट्रिय एकता अभियानलाई क्रियाशील गर्ने काममा योजना बनाएर लाग्नुहुन्छ होला ।’

एमालेबाट अलग भएपछि गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्ने अध्यक्ष माधव नेपाललाई वचन दिएका थिए । तर, दोस्रो वरीयतामा गौतमको प्रस्तावप्रति नेपालले पनि रुचि नराखेको उनीनिकट नेताको दाबी छ । ‘खासमा उहाँले दोस्रो वरीयताको अध्यक्ष बन्ने आशयको प्रस्ताव राख्नुभएको हो । तर, त्यसरी जाँदा अलग–अलग शक्ति केन्द्रको अभ्यासले भर्खरै बन्न लागेको पार्टी कमजोर हुने देखिएकाले त्यस्तो प्रस्ताव स्वीकार्य हुने अवस्था नै थिएन,’ नेपाललाई उद्धृत गर्दै एकीकृत समाजवादीका एक पदाधिकारीले भने, ‘त्यसपछि उहाँले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मार्गदर्शक मानेको अवस्थामा मात्र आफू आउने भनेर पछि हट्नुभएको हो ।’

तर, गौतमपत्नी तुलसाले भने विचार नमिलेकै कारण उनी एकीकृत समाजवादीमा प्रवेश नगरेको बताइन् । ‘एमालेबाट अलग भएपछि उहाँले नेकपा एकीकृत समाजवादीसँग पनि छलफल गर्नुभएको हो । तर, विचार नमिलेपछि उहाँ त्यता जानुभएन । राष्ट्रिय एकता अभियानका साथीहरू उहाँसँग सम्पर्कमै हुनुहुन्छ । सम्भवतः योजना बनाएर कम्युनिस्ट पार्टीहरूलाई एक बनाउने अभियानमै उहाँ क्रियाशील हुनुहुन्छ ।’

एकीकृत समाजवादी गठनपछि राष्ट्रिय एकता अभियानमा लागेका थुप्रै नेता गौतम नयाँ पार्टीमै आबद्ध हुनेमा आश्वस्त थिए । गौतमले ओलीसँग आफ्नो विचार नमिल्ने र अरू पार्टीमा जाने सम्भावना नै नरहेकाले एकीकृत समाजवादीमै आउने बताएकै कारण एकता अभियानका सहसंयोजक हरि पराजुली नेपालले नेतृत्व गरेको पार्टीमा सामेल भएका थिए । नयाँ पत्रिकाबाट