इन्द्रेणी संवाददाता
दाङ, २३ पुस । केही समयदेखि शून्य रहेको दाङमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । केही दिनदेखि जिल्लाको तुलसीपुर क्षेत्रमा कोरोना संक्रमणका विरामीहरु देखिन थालेका छन् । यस क्षेत्रमा बिहीबार मात्रै ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तुलसीपुर मेट्रो हस्पिटलमा १४२ जनामा गरिएको कोरोना परीक्षणमा ४५ जनामा पुष्टि भएको हो ।

गुरुजजुर माध्यामिक विद्यालयमा शिक्षकसहित ११ जना, मावि सेन्टर स्कुलमा १५ जना, जनता संस्कृत माध्यामिक विद्यालयमा एक जनामा स्वास्थ्यकर्मी ७ जना र अन्य कन्टयाकमा रहेका ११ जनामा कोरोना पुष्टि भएको कोभिड फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

विद्यालयका शिक्षक र विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएपछि माध्यामिक विद्यालय अश्वारा बुधबार र गुरुजजुरु मावि बिहीबारदेखि ५ दिनका लागि बन्द गरिएको छ । सम्भवत मावि सेन्टर स्कुल पनि शुक्रबारदेखि बन्द गरिने तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी बताए । तुलसीपुरमा पाँच दिनको अवधिमा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।