काठमाडौं, २३ पुस । पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनामा वृद्धि भएको छ । खासगरी यस्ता अपराध सबैभन्दा धेरै भारत र दुबईबाट हुँदै आएको प्रहरी अनुसन्धानमा देखिएको छ । तर, प्रभावकारी कानुन नहुँदा अन्तरदेशीय ठगीधन्दाका ‘मास्टर माइन्ड’ पक्राउ गर्न प्रहरी असफल हुँदै आएको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार सामाजिक सञ्जालको प्रयोगबाट ठगिएको भन्दै प्रत्येक दिन कम्तीमा दुईवटा जाहेरी दर्ता हुँदै आएका छन् । महाशाखामा दर्ता हुने सामान्य ठगीको जाहेरीभन्दा यो ७५ प्रतिशत धेरै हो । यस्ता घटनाका मुख्य योजनाकार भारत वा दुबईमा बस्ने गरेका छन् । आरोपी पहिचान भएर पनि कानुनकै अभावमा उनीहरू पक्राउ पर्न सकेका छैनन् ।
महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले सामाजिक सञ्जालमार्फत हुने अन्तरदेशीय ठगीधन्दालाई समेट्ने प्रभावकारी कानुन नहुँदा मुख्य योजनाकार पक्राउ गर्न नसकिएको बताए । ‘सामाजिक सञ्जालमार्फत ठगीका मुद्दा हामीकहाँ आउँछन् । दर्ता हुने समग्र ठगीका घटना विश्लेषण गर्दा साधारण ठगीका भन्दा यो ७५ प्रतिशतले धेरै छ । अनुसन्धान गर्दै जाँदा ठगीधन्दाका मुख्य योजनाकार कि भारतमा कि दुबईमा बसेको देखिन्छ । हामीकहाँ त्यस्ता अभियुक्त पक्राउ गर्ने कानुन नबनेकाले उनीहरू सधैँ उम्किँदै आएका छन्,’ उनले भने ।
ठगीधन्दाका लागि अपराधीले फेसबुक र ह्वाट्स एप सबैभन्दा धेरै प्रयोग गर्दैै आएको प्रहरीको भनाइ छ । वेलाबखत भाइबर, इमोलगायतका सञ्जाल पनि प्रयोग हुने गरेका छन् । चिट्ठा, गिफ्ट, प्रेम, गरगहना, डलर, जागिरलगायतलाई अपराधीले हतियार बनाएको महाशाखाले जनाएको छ । ‘सामाजिक सञ्जालबाट हुने ठगीका अधिकांश घटनामा चिट्ठा, गिफ्ट, प्रेम, गरगहना, डलर, जागिरलगायतका पक्षलाई हतियारका रूपमा प्रयोग गरेको भेटिएको छ । सामान्य मात्र होइन, पढलेखेका पनि ठगिएको भेटेका छौँ,’ महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले भने ।
प्रहरीका अनुसार यस्ता धन्दामा संलग्न हुनेहरू जति पक्राउ परेका छन्, ती सबै भरिया मात्रै भएको र जो ठगीपछिको रकम असुल्न प्रयोगमा आएको अनुसन्धानमा भेटिएको छ । बैंक खाता प्रयोग गरी जम्मा भएको रकम असुल्न यस्ता व्यक्ति प्रयोग हुने गरेका छन् । ‘यस्ता घटनमा विशेष गरी नेपाली नागरिक प्रयोग भएका छन् । विभिन्न प्रलोभनमा मुख्य योजनाकारले यस्ता व्यक्तिको बैंक खाता प्रयोग गर्छन् । र, उसैबाट रकम असुल्छन् । पक्राउ पर्ने त्यस्तै व्यक्ति हुन्,’ एसएसपी खापुङले भने ।
प्रत्येक दिन ठगीका दुई घटना दर्ता
अपराध महाशाखाको तथ्यांकअनुसार प्रत्येक दिन सामाजिक सञ्जालबाट हुने ठगीका सरदर दुईवटा घटना दर्ता हुन्छन् । सबैभन्दा धेरै पीडित हुनेमा २० देखि ३५ वर्ष उमेरसमूहका छन् । तथ्यांकअनुसार पछिल्लो पाँच महिनामा सामाजिक सञ्जालबाट पाँच करोड १९ लाख रुपैयाँ ठगी भएको छ, जसमा पीडित हुनेमध्ये ६५।३५ प्रतिशत २० देखि ३५ वर्ष उमेरसमूहका थिए । त्यसपछि ३५ देखि ४५ वर्ष उमेरसमूहका छन् ।
अर्थले रोक्यो साइबर नीति
साइबरमार्फत हुने ‘हाइटेक’ अपराधलाई हेर्न सरकारको कुनै नीति बनेको छैन, जसका आधारमा ऐन, कानुन, नियमावली, निर्देशिका बन्न सकोस् । सञ्चार मन्त्रालयले तीन वर्षअघि तयार गरेको मस्यौदा अहिले अर्थ मन्त्रालय पुगेर अड्किएको छ । मन्त्रालयका प्रवक्ता सिंहले साइबर नीतिको मस्यौदा तयार भएको, तर अर्थमा पुगेर रोकिएको बताए । ‘साइबर नीतिको मस्यौदा धेरै अघि तयार भएको हो । अहिले अर्थ मन्त्रालयमा पुगेर रोकिएको सूचना पाएका छौँ,’ उनले भने । सामाजिक सञ्जालको प्रयोगबाट विश्व जति लाभान्वित हुन सकेको छ, त्यति नै क्षति व्यहोर्नुपरेको छ । साइबर हमला, साइबर थेप्ट जस्ता ‘हाईटेक’ अपराध सामाजिक सञ्जालसँगै विकास भएका हुन् । यस्ता अपराधबाट जोगिन विभिन्न देशले बलियो कानुन बनाइसकेका छन् । नयाँ पत्रिकाबाट











