इन्द्रेणी संवाददाता
दाङ, २३ पुस । दाङको तुलसीपुर क्षेत्रका विद्यालयहरु बन्द हुने भएका छन् । उक्त क्षेत्रमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको भन्दै पुस २५ गतेदेखि माघ ३ गतेसम्मका लागि विद्यालय बन्द हुने भएका हुन् ।

तुलसीपुर उपमहानगर शिक्षा, युवा तथा खेलकुद महाशाखाले एक विज्ञप्ति जारी गर्दै फैलिदो कोरोना संक्रमणको चेन ब्रेकका लागि पुस २५ गतेदेखि माघ ३ गतेसम्म यस क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयलाई भौतिक रुपमा पठनपाठन रोक्न आग्रह गरेको छ । साथै भौतिक रुपमा भइरहेका आन्तरिक परीक्षा समेत रोक्न आग्रह गरिएको छ ।

माघ ४ गतेदेखि अवस्था हेरेर विद्यालय खोलिने विज्ञप्तिमा उल्लेख छ । साथै महाशाखाले आफ्ना बालबालिकालाई सुरक्षित राख्न अभिभावकलाई समेत आग्रह गरेको छ । केही दिनदेखि तुलसीपुर क्षेत्रका विद्यालयहरुमा शिक्षक र विद्यार्थीमाथि कोरोना संक्रमण पुष्टि हुँदै आएको छ ।