दाङ, फागुन ।
यस ग्लोबल दुनियाँमा
सत्तारुढ कुनै ठूलो मानिसले होइन
कुनै कर्पोरेट बुद्धिजीवी
कुनै एलिट नागरिकले होइन
मलाई बचाउनेछन् चटामरी र सामान्य मानिसले
मेरो सुगन्ध तिनकै प्रतिरोधले
राख्नेछ सुरक्षित‘ ।
माथि उल्लिखित कविताका पंक्तिहरुसँगै कवि डा। अमर गिरी शनिबार दङाली स्रष्टाहरुमाझ प्रस्तुत हुनुभयो ।
एकल कविता वाचनको सन्दर्भ जुटाएको थियो राप्ती साहित्य परिषदले ।
कार्यक्रममा देशको विद्यमान राजनीतिक विकृतिको आलोचना, जीवनका उकाली, ओरालीहरुको मार्मिक प्रस्तुति एवं परिवर्तनका स्वप्नहरुलाई अभिव्यक्ति दिइएका उहाँका कविताले श्रोताहरु कहिले भावुक त कहिले आक्रोशित देखिन्थे ।
बmबच नष्चष् ज्ञ‘चटामरी’ शीर्षकको कविताबाट वाचन शुरु गर्नुभएका कवि गिरीले दर्जन बढी कविता सुनाउनुका साथै आफ्नो कविता यात्राका सन्दर्भहरु पनि सुनाउन भ्याउनुभयो ।
उहाँले सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याए पनि देशका युवाहरु विदेशिनु परिरहेको तीतो यथार्थतालाई पुनः नारायणहिटी शीर्षकको कवितामा यसरी व्यक्त गर्नुभयो–
संग्रहालयमा परिणत भएको छ नारायणहिटी
अब मैले नारा लगाउनु छैन
फर्किएर त्यतापट्टि
ढुंगा हान्नु छैन
र मूर्दावाद भन्नु छैन
तर पनि
नारायणहिटीकै अगाडि छु म
पश्चिमतिर ओरालो झरिरहेछ सूर्य
म कुरिरहेछु पासपोर्ट‘ ।
परिषद्ले आयोजना गरेको कवि अमर गिरीको एकल कविता वाचन र ‘शब्दहरुको बीचमा’ कविता संग्रहको समीक्षा कार्यक्रममा उहाँले चटामरी, पुनः नारायणहिटी, भोक, हँसिया, परिचय, महाकाली किनारमा, मैले भन्नुपर्नेछ, घाम र म, सम्वाद, जीवनको सुगन्ध, ठीक त्यसैगरी, सहस्र कवितालगायतका शीर्षकका कविताहरु सुनाउनुभयो ।
राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले अमर गिरी प्रगतिवादी कविताका क्षेत्रमा स्थापित नाम भएको बताउँदै उहाँ अनुभूति र विचारका कवि भएको बताउनुभयो ।
कार्यक्रममा कवि यज्ञबहादुर डाँगीले गिरीका कविता आफ्नो समयका इमान्दार कविता भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँका कविता समय, समाज र जीवनसँग जोडिएका छन्, कवितामा वास्तविकताको रचनात्मक पुनर्सिजन गरिएको छ ।’
अर्का कवि शरद देवकोटाले गिरीका कवितामा समकालीन नेपाली समाजको यथार्थले कलात्मक अभिव्यक्ति पाएको बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख तथा प्रगतिशील लेखक संघ नेपालका अध्यक्षसमेत रहनुभएका कवि अमर गिरीको एकल कविता वाचन कार्यक्रमको सञ्चालन परिषद्का सदस्य नवीन अभिलाषीले गर्नुभएको थियो ।
