मायालु स्पर्शले भट्किएको हृदय समेटेझैँ,
बाजेको हातले नातिलाई माया थमाएझैँ।
सपना देख्ने आँखाले बाटो देखाएझैँ,
गन्तव्य देख्ने यो साहसले यात्रा तय गरेझैँ।

       पानीको स्पर्शले घाँटीको तिर्खा मेटाएझैँ,
सूर्यको स्पर्शले धर्तीमा प्राण भरेझैँ।
हावाको स्पर्शले फूलमा सुवास फैलाएझैँ,
पसिनाको स्पर्शले माटोमा उर्वरता छरेझैँ।

स्पर्श होस् त यस्तो,
जो निदाउने बेला निधारमा सुमसुम्याओस्।
जो चोट लागेको घाउमा मलमझैँ लागोस्।
जो मायालु हेराइले मनको डर हटाओस्,
र विश्वासले जीवनमा नयाँ साहस थपिदियोस्।

स्पर्श होस् त यस्तो,
जो थाकेको आत्मालाई सान्त्वना बनोस्।
जो आँखाभित्र लुकेका सपना सजाओस्।
जो मौनता तोडेर प्रेमको भाषा बोलोस्,
र थाकेको दिनलाई आनन्दमय साँझ बनाओस्।

स्पर्श होस् त यस्तो,
जो थाकेको यात्रुलाई छायाँ बनोस्।
जो दुःखमा डुबेको मनलाई आशा बनोस्।
जो हराएको आत्मालाई दिशा देखाओस्,
र जीवनमा नयाँ उज्यालो छरिदियोस्।

स्पर्श होस् त यस्तो,
जो उजाडिएको जीवनलाई बहार देओस्।
जो आँसु पुछेर मुस्कान ल्याओस्।
जो अन्धकारमा दीपझैँ बलाओस्,
र बाँच्न प्रेरणा दिन सक्योस्।