काठमाडौं, ६ पुस । प्रधानमन्त्रीलाई एमसिसी अनुमोदनको आश्वासन दिएर ओलीले सत्तागठबन्धन टुटाउने ‘दाउपेच’ गरेको शीर्ष नेताहरूको आरोप
पाँचदलीय सत्तागठबन्धनका शीर्ष नेताहरूले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० अनुमोदनको आश्वासन दिएर एमाले अध्यक्ष केपी ओलीले गठबन्धन टुटाउने ‘दाउपेच’ गरेको दाबी गरेका छन् । तर, त्यस्तो ‘दाउपेच’ सफल हुन नदिने उनीहरूको भनाइ छ ।
समाजवादी प्रेस संगठनले सोमबार राजधानीमा गरेको कार्यक्रममा गठबन्धनका शीर्ष नेताहरूले एमसिसीको मुद्दामा राष्ट्रिय हितअनुकूल सहमति जुटाउने र अहिलेको गठबन्धन टुट्न नदिने दाबी गरे । ओलीको दाउपेचप्रति आफूहरू सचेत रहेको उनीहरूको भनाइ छ ।
आइतबार पाँचदलीय गठबन्धन र सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी अनुमोदनका लागि प्रस्ताव गरेको अर्को दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष डा। बाबुराम भट्टराईले एमसिसीका कारण गठबन्धन तलमाथि नहुने दाबी गरेका हुन् ।
माओवादी अध्यक्ष प्रचण्डले एमसिसी मुद्दामा सर्त अगाडि सारेर एमाले अध्यक्ष ओलीले गठबन्धन टुटाउने ‘डिजाइन’ गरे पनि प्रधानमन्त्री देउवा र आफूबीच त्यसलाई सफल हुन नदिने सहमति बनेको बताए । ‘निरन्तर सदन अवरुद्ध गर्नुका पछाडि उहाँ ९केपी ओली०ले सर्त राखेको सुनेका छौँ । गठबन्धन टुट्छ भने कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने उहाँको कुरा छ । गठबन्धन टुट्ने हो भने एमसिसी पास गर्न सहयोग गरिदिने भन्नुभएको छ । यति ठूलो आन्दोलन गरेर आएको चिजलाई एउटा डिजाइनका साथ समर्थन गर्ने रे १ अर्कोतिर सदन चल्न नदिएर कुनै पनि विधेयक पारित हुन नदिने डिजाइन । यो सबै प्रतिगमनकै निरन्तरता हो,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री देउवाजीसँग यसबीचमा मेरो कुराकानी भइरहेको छ, उहाँले कुनै हालतमा गठबन्धन टुट्न नदिने, गठबन्धन टुटाऊ समर्थन गर्छु भन्ने ओली प्रवृत्तिलाई सफल हुन नदिने विश्वास दिलाउनुभएको छ, उहाँलाई धन्यवाद भन्न चाहन्छु ।’ नयाँ पत्रिकाबाट











