काठमाडौं, २ मंसिर । अब सर्वाेच्चमा गोलाप्रथाबाट इजलास तोकिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू आज सम्पन्न फुलकोर्ट बैठकले गोलाप्रथा प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराबाहेकका १८ जना न्यायाधीशको आज बसेको फुलकोर्ट बैठकले प्रधानन्यायाधीशले इजलास तोक्ने व्यवस्था परिवर्तन गर्दै गोलाप्रथाबाट इजलास तोक्ने नियमावली पारित गरेको हो । यो नियमावली कानुन मन्त्रालयमार्फत राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ ।

गोलाप्रथा प्रणालीका लागि निर्देशिका समेत बनिसकेको छ । कार्यविधिअनुसार हरेक दिन बिहान १० बजे प्रधानन्यायाधीश, न्यायाधीश, मुख्य रजिस्ट्रार र मुद्दा व्यवस्थापनमा संलग्न कर्मचारी तथा सूचना प्रविधि प्राविधिकको उपस्थितिमा गोलाप्रथा प्रक्रियाद्वारा इजलास गठन र दैनिक पेसी सूची निर्धारण हुनेछ ।