चिवतन, ३ मंसिर । शल्यक्रियाको अनुमति नै नपाएका चिकित्सकले कलेजो प्रत्यारोपण गर्दा भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक बिरामीको ज्यान गएको छ । पीडित परिवारले मेडिकल कलेज र त्यहाँ कार्यरत चिकित्सकविरुद्ध नेपाल मेडिकल काउन्सिल, मानव अंग प्रत्यारोपण समन्वय समिति र जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी दिएका छन् ।

भरतपुर– ६ का बोधराज पौडेलको गत ६ असोजमा उपचारका क्रममा मृत्यु भएको थियो । मृतकका छोरा प्रसन्नले अनुमति नै नपाएका डाक्टरले प्रत्यारोपण गरेको भन्दै उजुरी गरेका हुन् । डा. सञ्जयकुमार यादवसहितको टोलीले पौडेलको कलेजो प्रत्यारोपण गरेको थियो । तर, उनलाई मानव अंग प्रत्यारोपण समन्वय समितिले प्रत्यारोपणको अनुमति नदिएको स्रोतले जनाएको छ ।

त्यति मात्र होइन, शल्यक्रियाअघि मृतकको रगतमा थाइराइड उच्च रहेको अवस्थामा समेत शल्यक्रिया गरिएको थियो । त्यस्तो अवस्थामा शल्यक्रिया गर्न नमिल्ने चिकित्सकहरू बताउँछन् । शल्यक्रियालगत्तै आवश्यक औषधिबारे पनि अस्पतालले परिवारलाई जानकारी गराएको थिएन । जसकारण विदेशबाट ल्याउनुपर्ने औषधि ल्याउन नसकिएको र संक्रमणको उच्च जोखिम हुँदाहुँदै प्रत्यारोपणलगत्तै पत्थरीको अप्रेसन गरेर थप जोखिममा पारेको पीडित परिवारको दाबी छ । नयाँ पत्रिकाबाट