काठमाडौं, २ मंसिर । महालेखानियन्त्रक कार्यालयले गरेको आन्तरिक लेखापरीक्षणबाट सरकारका विभिन्न निकायमा सवा २५ अर्ब बेरुजु निस्किएको छ । विभिन्न कोष तथा लेखानियन्त्रक कार्यालयहरूमार्फत महालेखाले गरेको आन्तरिक लेखापरीक्षणबाट गत आर्थिक वर्ष ०७७/७८ मा २५ अर्ब २६ करोड ५० लाख रुपैयाँको बेरुजु निस्किएको हो ।
यो संघीय सरकारबाट निकासा तथा खर्च भएको रकमको बेरुजु अंक भएको कार्यालयले जनाएको छ । कार्यालयले गत आवमा निकासा तथा खर्च भएको ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाखको आन्तरिक लेखापरीक्षण गरेको थियो । आन्तरिक लेखापरीक्षणबाट निस्किएको बेरुजु कुल निकासा तथा खर्चको दुई दशमलव ११ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
कार्यालयले कुल बेरुजु अंकलाई नियमित गर्नुपर्ने, म्याद नाघेको र असुलउपर गर्नुपर्ने गरी तीन भागमा वर्गीकरण गरेको छ, जसअनुसार म्याद नाघेको पेस्की १७ अर्ब ७१ करोड ५८ लाख, नियमित गर्नुपर्नेतर्फ ६ अर्ब ९५ करोड ७३ लाख र असुलउपर गर्नुपर्ने ५९ करोड १९ लाख रुपैयाँ छ ।
कर राजस्वको ठूलो हिस्सा भने आन्तरिक लेखापरीक्षणको दायरामा छैन । गत आवमा नौ खर्ब ७६ अर्ब ३२ करोड राजस्व संकलन भएकामा त्यसतर्फको बेरुजु ०.०२ प्रतिशत अर्थात् २३ करोड ६१ लाख मात्र छ ।
गत आवको बेरुजु अंक अघिल्लो आव ०७६/७७ को तुलनामा दोब्बरभन्दा बढी हो । आव ०७६/७७ मा ११ अर्ब ३९ करोड ९७ बेरुजु देखिएको थियो । गत आवमा उक्त बेरुजु अंक १३ अर्ब ८६ करोड ५३ लाख अर्थात् १२१.६२ प्रतिशतले बढेको छ नयाँ पत्रिकामा खबर छ। महालेखानियन्त्रक सुमनराज अर्याल यसलाई आन्तरिक लेखापरीक्षण प्रभावकारी बन्दै गएको रूपमा अथ्र्याउँछन् । ‘बेरुजुको यो अंकले सरकारी निकायहरूमा आन्तरिक नियन्त्रण प्रणाली तथा कानुनको परिपालना स्तर कमजोर रहेको देखाएको छ,’ महालेखानियन्त्रक अर्यालले बताए ।











