महोत्तरी, १ कार्तिक । दसैँको अष्टमी र नवमीका दिन महोत्तरीका दुई महिलाले बोक्सीको आरोपमा परिवार र छिमेकीबाट क्रूर हिंसा व्यहोर्नुपर्‍यो । महोत्तरी गाउँपालिका– ३ मडईकी ४२ वर्षीया शिलादेवी झाले ज्यान नै गुमाइन् । जलेश्वर नगरपालिका– ४ सुगाकी ४२ वर्षीया सुकमरिया देवीलाई छिमेकीले मलमूत्र खुवाए, केश मुण्डन गरी निर्घात कुटपिट गरे ।

शिलादेवीलाई उनकै देवर सञ्जयकुमारले हथौडाले टाउकोमा हिर्काएर हत्या गरेका हुन् । भाउजू बोक्सी भएको र केरा खुवाएर पत्नी रिंकुदेवीको गर्भपतन गराएको बयान उनले प्रहरीलाई दिएका छन् । डेढ महिनाअघि जनकपुर आएका एक भारतीय झाँक्रीले शिलादेवी बोक्सी भएको बताएपछि सञ्जयले हत्या योजना बनाएका थिए ।

त्यसअघि झाँक्री लगाउँदा रिंकुदेवी काम्ने क्रममा आफूलाई शिलादेवीको माइलो छोरा कृष्ण भएको बताएकी थिइन् । करिब एक वर्षअघि शिलादेवीका पति लालकिशोर र छोरा कृष्णको मृत्यु भएको थियो । ‘उनीहरूलाई शिलादेवीले नै टुनामुना गरी मारेको र अब सञ्जयकी पत्नी रिंकुदेवीलाई पनि मार्ने हो,’ रिंकुदेवी काम्ने क्रममा भनेकी थिइन् । शिलादेवीले मार्ने उद्देश्यसहित आफ्नी पत्नीलाई केरा खान दिएको र त्यसबाट पत्नीको गर्भ तुहिएको अन्धविश्वासले सञ्जयको दिमागमा जरा गाडेको थियो ।

महोत्तरीका एसपी दिनेश आचार्यका अनुसार बोक्सीको आशंकामा भाउजूको हत्या गरेको बयान सञ्जयले दिएका छन् । ‘सगोलमै बस्दै आएका सञ्जयको गत असारमा विवाह भएपछि भाउजूसँग खटपट बढेको रहेछ । भाउजूले दिएको केरा खाएकाले श्रीमती रिंकुदेवीको गर्भ तुहिएको भन्दै उनले तीन महिनाअघि पनि झगडा गरेका रहेछन्,’ एसपी आचार्यले भने, ‘त्यसपछि सञ्जय पत्नीसहित जनकपुरस्थित हजुरआमाको घरमा बस्न थालेछन् । डेढ महिनाअघि जनकपुर आएका एकजना भारतीय झाँक्रीले टुनामुना गरेर शिलादेवीले आफ्नै पति र छोरालाईसमेत मारेको तथा रिंकु र उनको गर्भमा रहेको शिशुलाई पनि मार्नकै लागि केरा खुवाएको बताएपछि सञ्जय भाउजूको हत्या गर्ने योजनामा पुगेको देखियो ।’

यसरी गरियो शिलादेवीको हत्या
गत बुधबार शिलादेवी झाका हिन्दू धर्मावलम्बी छिमेकी अष्टमीको रमाइलोमा थिए । तर, उनको घरमा भने कुनै रौनक थिएन । एकातिर चरम गरिबीको मार थियो । अर्कोतिर आफ्ना दुई छोरा साथमा थिएनन् । रोजगारीका लागि भारतको गुजरात पुगेको जेठो छोरा १९ वर्षीय अभिषेककुमार घर फर्किएको थिएन । जलेश्वरमा डेरा लिएर बस्दै आएको कान्छो छोरा १६ वर्षीय राहुल पनि आक्कल–झुक्कल मात्र आउँथे ।

केही वर्षअघि श्रीमान् र एक छोरा गुमाएकी शिलादेवीलाई त्यसैले पनि दसैँको रौनक थिएन । तैपनि उनी नवरात्र सुरु भएसँगै अन्न ग्रहण नगरी व्रत बसिरहेकी थिइन् । केही दिनअघि मात्रै घर आएको कान्छो छोरा बुधबार बिहानै जलेश्वरस्थित मामाघरतिर लाग्यो । शिलादेवीले एक हजार रुपैयाँ दिएर पाँच सय मेला हेर्न आफैँले राख्नू, पाँच सय माइजूलाई दिनू भनी पठाएकी थिइन् । नयाँ पत्रिकाबाट