काठमाडौं, २२ असोज । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय भागबन्डामा हरेफेर गरेर टुंगो लगाएसँगै शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका छन् । मंगलबारकै बैठकमा बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति गरेका गठबन्धनका शीर्ष नेताहरूले भागबन्डाको विषयमा पार्टीभित्र सहमति र त्यसअनुसार आकांक्षीको व्यवस्थापन गर्न नसकेपछि बिहीबार त्यसलाई हेरफेर गरेका हुन् ।

madav nepalबिहीबारको नयाँ सहमतिसँगै शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । ‘दलहरूबीच नयाँ सहमति बनेको छ, आज मन्त्रिपरिषद् विस्तार हुन्छ,’ अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्माले भने, ‘शुक्रबार नै शपथ गराउने तयारी छ ।’

बिहीबार बसेको गठबन्धन बैठकले यसअघि भएको सहमतिअनुसार दलहरूले पाउने मन्त्रीको संख्यालाई यथावत् राख्दै मन्त्रालय भने सामान्य हेरफेर गरेको छ । जसअनुसार नेकपा एसको तर्फबाट मन्त्री पठाउने भनिएको कानुन मन्त्रालय प्रमुख सत्तारुढ दल कांग्रेसले नै राख्ने भएको छ । नेकपा एसलाई कानुन मन्त्रालयको ठाउँमा स्वास्थ्य मन्त्रालय दिने सहमति भएको छ । त्यसबाहेक नेकपा एसले श्रम तथा रोजगार, संस्कृति तथा पर्यटन र सहरी विकास मन्त्रालय पाएको छ ।

यसअघि कानुन मन्त्रालय नेकपा एसको भागमा परे पनि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिफारिस गरेको व्यक्तिलाई मन्त्री बनाउनुपर्ने सर्त राखेका थिए । जसका कारण नेकपा एसमा असन्तुष्टि बढेको थियो । अध्यक्ष माधव नेपालले मन्त्रालय हेरफेर गर्न प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अनुरोध गरेका थिए । नयाँ पत्रिकाबाट