घोराही, २ साउन
दाङमा बितेको एक बर्षमा ट्राफिक नियम पालना नगर्ने साढे ३४ हजार बढी सवारी चालक तथा धनी कार्वाहीमा परेका छन् । एक बर्ष भरी भए गरेका कार्यहरुका बारेमा जानकारी दिन जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आज घोराहीमा पत्रकार सम्मेलन गरी ट्राफिक नियम पालना नगर्ने ३४ हजार ७ सय ३७ वटा गाडिका चालक तथा धनीलाई कार्वाही गरिएको जानकारी दिएको हो ।trafiksirha

उक्त कार्वाहीबाट एक करोड १४ लाख १२ हजार ६ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो बर्षमा ४१ हजार ३ सय सवारीका चालक तथा धनी कार्वाहीमा पर्दा एक करोड ५ लाख ४ हजार ३ सय रुपैयाँ जरिवाना संकलन भएको ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक अरुणकुमार सिंहले जानकारी दिनुभयो ।

दाङमा सरदर ५० देखी ९० वटा गाडिहरु दैनिक ट्राफिक नियम बिपरित चलेकै कारण कार्वाहीमा पर्ने गरेका छन् । मादक पदार्थ सेवन गरेर सवारीका साधन चलाउने ६ सय ५८ जना, सिटबेल्ट नबाध्ने १ सय १, क्षमता भन्दा धेरै यात्रु र लोड बोक्ने ३ हजार ३ सय ९२ र गाडि चलाउदै गर्दा मोवाईल फोनमा कुरा गर्ने ४ जना चालकलाई कार्वाही गरिएको सिंहले बताउनुभयो ।।