सल्यान, १८ चैत्र। सल्यानमा बर्सेनि मह उत्पादन घट्दै गएको छ । विगत वर्षको तुलनामा अहिले क्रमिक रूपमा मह उत्पादन घट्दै गएको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको हो ।

honeyकम लगानीबाट पनि धेरै आम्दानी हुने भएपछि मौरीपालनतर्फ हौसिएका जिल्लाका किसानहरू बर्सेनि मह उत्पादन घटेपछि चिन्तित बन्न थालेका छन् । आर्थिक वर्ष ०७५/७६ मा जिल्लाभर १ हजार ५ सय ३० घार मौरी थिए, जसबाट १९ मेट्रिक टन मह उत्पादन भएको थियो ।

यस्तै, आर्थिक वर्ष ०७६र७७ मा मौरी घारको संख्या बढेर २ हजार १ सय ३० पुगे पनि मह उत्पादन घटेर १० दशमलव ५ मेट्रिक टन भएको छ । आर्थिक वर्ष ०७७/७८ को हालसम्म कात्तिके महको उत्पादनमा झन्डै ३० प्रतिशतले कमी आएको छ ।

जिल्लाको कालीमाटी, कुमाख, त्रिवेणी र कपुरकोट गाउँपालिकाका केही किसानले मौरीपालन गर्दै आएका छन् । जिल्लामा बर्सेनि मौरीपालनमा लगानी बढाइँदै गए पनि मह उत्पादनमा कमी आएको कृषि विकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए । विगत वर्षको तुलनामा मह उत्पादनमा ह्रास आइरहेको उनले बताए । ‘सल्यान मौरीपालनका लागि सम्भावनायुक्त क्षेत्र हो । तर, विगतका वर्षको तुलनामा यो वर्ष मह उत्पादन घटेको छ,’ उनले भने ।

मौसमी परिवर्तनका कारण मह उत्पादन कम भएको हुन सक्ने आचार्यको अनुमान छ । कालीमाटी क्षेत्रमा झुसिल किराको प्रकोप देखिनु, मौरीको चरन क्षेत्र नबढ्नु तथा सुक्खायामका कारण फूल नफुल्नु र फुलेका फूल पनि बेलैमा सुकेर जाँदा मह उत्पादनमा कमी आएको हुन सक्ने उनको बुझाइ छ ।

मौरीपालनमा सरकारी लगानी धेरै
जिल्लामा मौरीपालन हुने क्षेत्रमा सरकारी लगानी बढ्दै गएको छ । मौरी घारदेखि आवश्यक औजार उपकरणमा समेत सरकारी क्षेत्रको लगानी बढ्दै गएको पाइन्छ ।

गत वर्ष मात्रै कालीमाटी गाउँपालिका– १, २, ३ र ४ मा मौरी ब्लक तथा कुमाख गाउँपालिकाको वडा–३ मा मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यालय प्रमुख आचार्यले मौरीपालनलाई व्यावसायिक बनाउन बर्सेनि लगानी बढाउँदै गएको बताए अभियानमा खबर छ। किसानलाई आवश्यक परामर्श, मौरीको गोला, घार, मह निकाल्ने उपकरणसहित चरन क्षेत्र वृद्धिका लागि बेमौसमी फूलका बिरुवासमेत उपलब्ध गराइएको उनले जानकारी दिए ।