काठमाडौं, ३१ असार
शिक्षा क्षेत्रका सरोकारवालाले ग्रेडिङ् प्रणाली आफैमा गलत नभए पनि राज्यको पुर्ण तयारीको अभावका कारण सहि ढंगले लागु हुन नसकेको भन्दै आलोचना गरेका छन् । आवश्यक पूर्वाधार र तयारी विना ग्रेडिङ् पद्धति लागु गरेको भन्दै विरोधमा उत्रिएको विप्लव नेतृत्वको नेकपा माओवादी निकट अनेरास्ववीयु क्रान्तिकारी ले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
‘शिक्षामा लेटर ग्रेडिङ प्रणाली कार्यन्वयन समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा शिक्षाविद् तिर्थ पराजुलीले राज्य बढी उदार भएर सबैलाई ग्रेडिङ प्रणाली भित्र राख्नु नै कमजोरी भएको बताउनुभयो ।
शिक्षाविद तथा प्रा.डा. विद्यानाथ कोइरालाले विद्यार्थी संगनठहरु प्रति इंगित गर्दै शिक्षकलाई राजनीतिक नबनाई पेशागत बनाउने तिर जोड गरिएमा शिक्षा क्षेत्रका धेरै समस्याहरु हल हुने सुझाव दिनुभयो ।
राज्यले आम जनतालाई हेर्ने दृृष्टिकोणमा नै समस्या रहेको भन्दै नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले शिक्षा लगायतका क्षेत्रमा राज्यले विभेदकारी बाटो अपनाइ रहेको बताउनुभयो ।।