काठमाडौं, ३१ असार
शिक्षक सेवा आयोगले छुट्टै विधेयक निर्माण गरेको छ । मुलुक संघीयतामा गईसकेको र नयाँ शिक्षा ऐन कार्यान्वयनको चरणमा रहेको सन्दर्भलाई ध्यान दिएर आयोगका पदाधिकारीले प्रारम्भिक चरणको मस्यौदा तयार गरेका हुन् । उक्त मस्यौदा केही दिनमै शिक्षा मन्त्रालयमा बुझाउने तयारी भईरहेको छ ।
कानून बनिसके पछि संघीयतामा शिक्षक ब्यवस्थापन कसरी गर्ने भन्ने सहित शिक्षकका अरु धेरै कुराहरु स्पष्ट हुने आयोगका अध्यक्ष ताना गौतमले बताउनुभयो । नयाँ शिक्षा ऐनको कार्यन्वयन सँगै झण्डै ३० हजार शिक्षक पूर्ति गर्ने तयारी भईरहँदा आयोगले ‘शिक्षक सेवा आयोगको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक’ ऐनको तयारी गरेको हो ।
उक्त मस्यौदा सरकारले विधेयकका रुपमा ग्रहण गरेपछि व्यवस्थापिका संसदमा छलफलका लागि प्रस्तुत गरिने छ । छलफल पश्चात प्रक्रियागत तवरबाट ऐनका रुपमा आउने छ । शिक्षा ऐन तथा नियमावलीको अधिनमा रही शिक्षक सेवा आयोग नियमावली, २०५८ र शिक्षक सेवा आयोग कार्य्विधि २०५९ अनुसार आयोगको गठन भएको हो । शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५८ अनुसार गठन भएको आयोगको नबौं संशोधन नियमावली २०७१ लागू छ ।।
