काठमाडौं, २७ असोज । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले म्याद नाघेका बटर (मख्खन) बाट घ्यू बनाइरहेको भेटिएको छ ।

DDC.jpegeeडीडीसीको गोदाममा करोडौँ मूल्य पर्ने बटर म्याद गुज्रेको अवस्थामा पाइएको अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।

डीडीसीमा म्याद गुज्रेको बटरमार्फत घ्यू बनिरहेको गुनासो आएपछि काठमाण्डौ महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा मङ्गलबार बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण आयोजनामा अनुगमन गरिएको थियो ।

​अनुगमनमा डीडीसीको गोदाममा एक लाख ९४ हजार ६ सय किलो म्याद गुज्रेको बटर भेटिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमिल्सिनाले बताए । उनले भने, ‘म्याद गुज्रिएको बटरसँगै डीडीसीले घिउ बनाउने ठाउँ असाध्यै फाहोर भेटियो, सरकारी स्वामित्वको संस्थानले नै उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको छ । तर सरकारी निकायले बजार अनुगमन गरिरहेको दाबी गरे पनि त्यसो भएको पाइएन ।’

डीडीसीको बटर बजारमा प्रतिकिलो आठ सय ५० रुपैयाँ पर्छ । यही हिसाबले एक लाख ९४ हजार ६ सय किलो बटरको मूल्य १६ करोड ५४ लाख १० हजार रुपैयाँ हुन आउँछ । उपभोक्ता अधिकारकर्मी तिमिल्सिनाले डीडीसीको बदमासी पुष्टि भइसकेकाले कारबाही हुनुपर्ने बताए । डीडीसीले अधिकांश बटर लेबल नै नगरी खाली कार्टुनमा राखेको पाइएको छ उज्यालोमा खबर छ। यसअघि पनि डीडीसीको उत्पादनमा प्रश्न उठ्ने गरेको थियो ।