इन्द्रेणी संवाददाता
काठमाडौं, ६ असोज । कोरोना संक्रमणको जोखिम भएपनि देशका यातायात, पर्यटन क्षेत्रलगायतका क्षेत्रहरुलाई चलायमान गर्न सरकारले खुल्ला गरेसँगै शिक्षा क्षेत्र पनि चलायमान बन्दै गएको छ ।
स्कूलहरुमा कतै अनलाइन कक्षा सञ्चालन भएका छन् त कुनै ठाउँमा आंशिक रुपमा भएपनि विद्यालय नै सञ्चालनमा आएको छ । यसैक्रममा विद्यार्थीको उच्च शिक्षासँग जोडिएका विभिन्न विश्वविद्यालयहरुले पनि कोरोनाका कारण स्थगित भएका परीक्षाहरु सञ्चालन गर्ने तयारी गरिरहेका छन् । कतिपय नियमित र कतिपय यसअघि स्थगित भएका परीक्षा सञ्चालनमा आउन थालेका छन् ।
यस क्रममा पूर्वाञ्चल विश्वविद्यालयले असोज दोस्रो साताबाट नियमिततर्फको स्नातक तथा स्नातकोत्तर तर्फको परीक्षा सञ्चालन गर्ने भएको छ । परीक्षा यस पटक अनलाइनबाट लिने गरी तय भएको विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले जानकारी दिए ।
विश्वविद्यालय तथा कलेजका कक्षाकोठामा पठनपाठन खोल्ने अनुमति हाल नभएकाले वैकल्पिक विधिबाट परीक्षा लिने निर्णय गरिएको जानकारी विश्वविद्यालयका अधिकारीहरूले दिएका छन् ।
मध्यपश्चिमको परीक्षा १७ गतेबाट
मध्यपश्चिम विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको परीक्षा असोज १७ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ । पहिलो चरणको यो परीक्षा कात्तिक ६ भित्र पूरा गर्ने विश्वविद्यालयको कार्यतालिका छ ।
दोस्रो चरणमा मङ्सिरको पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी रहेको उपकुलपति प्रा।डा। नन्दबहादुर सिंहले जानकारी दिए ।
कुनै पनि तहमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र नबिग्रने गरी परीक्षा लिइने जनाइएको छ । एमफिल र विद्यावारिधि तर्फको पठनपाठनमा कुनै समस्या नरहेको जनाइएको छ ।
त्रिवि कार्यतालिका बनाउँदै
उच्च शिक्षामा सबैभन्दा धेरै विद्यार्थी भार वहन गरेको त्रिभुवन विश्वविद्यालयले भने परीक्षाका लागि तयारी गर्दै गरेको र यस विषयमा पदाधिकारी तहमा छलफल सुरु गरिएको जनाइएको छ ।
परिस्थिति हेरेर एक साताभित्र परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने जानकारी विश्वविद्यालयका पदाधिकारीले दिएका छन् । विश्वविद्यालयमा स्नातक तथा स्नातकोत्तर तहको स्थगित परीक्षा सञ्चालन हुन सकेको छैन । यसै साता स्थगित परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने विश्वविद्यालयको तयारी छ ।
लुम्बिनीमा परीक्षा जारी
लुम्बिनी बौद्ध विश्वविद्यालयले भौतिक तथा अनलाइनबाट स्नातक तथा स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ । भौतिक तथा अनलाइन माध्यमबाट विश्वविद्यालयले विद्यार्थीको परीक्षा सञ्चालनमा ल्याएको हो ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न वज्राचार्यले चालू परीक्षा सकिएलगत्तै स्नातकोत्तर तहका विभिन्न विषयका परीक्षा सञ्चालनको तयारीमा आफूहरू रहेको जानकारी दिनुभयो । विदेशमै भएका विद्यार्थीलाई पनि अनलाइन माध्यमबाट परीक्षा लिने योजना बनाइएको छ गोरखापत्रमा खबर छ।











