इन्द्रेणी संवाददाता
दाङ, ६ असोज । घोराहीस्थित महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले समुदायमा १ अर्ब ७८ करोड लगानी गरेको छ ।
संस्थाले आफ्ना करीब ४२ हजार सदस्यमार्फत १ अर्ब ७८ करोड ४५ लाख ५२ हजार समुदायमा लगानी गरेको संस्थाकी अध्यक्ष गीताकुमारी योगीले जानकारी दिएकी छन् ।
वित्तीय संस्थामा आवद्ध सदस्यहरूले १ अर्ब १० करोड ९५ लाख ५३ हजार संस्थामा बचत र संस्थाले सदस्यहरूलाई ६ अर्ब ६१ करोड ६१ लाख १० हजार कुल कर्जा वितरण गरेको छ ।
संस्थाले प्रदेश ५ र कर्णाली प्रदेशका १० जिल्लामा कार्यक्षेत्र बनाएर २५ ओटा शाखा र १० ओटा उपशाखाहरू मार्फत ४२ हजार सदस्यहरूलाई सेवा प्रदान गरिहेको अध्यक्ष योगीले बताइन् ।
संस्थाले कृषि, पशुपालन, साना उत्पादनमूलक उद्योग, सीपमूलक तालिम प्रदान गरी साना तथा मझौला उद्यमी निर्माण गरी सदस्यहरूको आर्थिकस्तरमा सुधार गर्दै गरीबी न्यूनीकरणमा टेवा पु¥याउने उद्देश्यले लगानी गर्दै आएको छ ।
संस्थाले युवा तथा महिलाहरूको व्यवसायीक क्षमता अभिवृद्धि तथा व्यवसाय प्रवर्द्धनका लागि आवश्यक पर्ने वित्तीय सेवा, प्राविधिक सेवा, तालिम तथा अध्ययन भ्रमणको व्यवस्था समेत गर्दै आएको छ ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले २०६० बाट शुरू गरेको लघुवित्त कार्यक्रमले २०७५ कार्तिक ३० गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गरी ‘घ’ वर्गको यस महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा रूपान्तरण भएको हो ।











