इन्द्रेणी संवाददाता
वालिङ्, ५ असोज । स्याङ्जा प्रहरीले एकैदिन विभिन्न कसुरमा अभियुक्त ठहर भएका ४८ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा विभिन्न प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आइतवार मात्रै जिल्लाका विभिन्न स्थानबाट ४८ जना फरार अभियुक्तलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार कर्तव्य ज्यान, हाडनाता करणी, लागुऔषध, अंशवण्डा, सम्बन्धविच्छेद, कुटपिट लगायतका विभिन्न मुद्दा लागेपछि फरार भएका ४८ जनालाई पक्राउ गरी अदालतमा उपस्थित गराएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत एक महिनामा ८३ जना प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।











