इन्द्रेणी संवाददाता
दाङ, ५ असोज । दाङ प्रहरीले अहिलेसम्मकै ठूलो परिमाण लागुऔषध (ब्राउन सुगर) गरेको छ । विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालया दाङबाट खटिएको प्रहरीको टोलीले ३२५ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी निरीक्षक राजनकुमार गौतमको नेतृत्वमा गएको प्रहरीको टोलीले लमही नगरपालिका वडा नं. ९ अमिलियाबाट नेपालगञ्ज उपमहानगरपालिका ११ भट्टी टोल बस्ने ३५ वर्षका महिन अन्सारीलाई ३२५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिए । अन्सारीलाई ब्राउन सुगरको कारोबार गरिरहेको अवस्थामा आइतवार साँझ करिव साढे ८ बजेतिर पक्राउ गरिएको हो ।
प्लाष्टिकमा पोको पारेर लुकाइ राखेको अवस्थामा ब्राउन सुगरसहित पक्राउ गरिएका अन्सारीको थप अनुसन्धान भइरहेको एसपी चन्दले बताए । उनलाई प्रहरीले आज सोमवार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक समेत गरेको छ ।
नियन्त्रणमा लिइएको उक्त ब्राउन सुगर करीव ७५ लाख मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । यो परिणाम ठूलो भएकाले यसको कानुनी कारवाही पनि जन्मकैदसम्म हुन सक्ने प्रहरीले जनाएको छ ।











