इन्द्रेणी संवाददाता
दाङ, १४ भदौ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि दाङमा आइतवार राति १२ बजेदेखि लागु हुने गरी एक साता निषेधाज्ञा जारी गरिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको गएको शक्रवार वसेको बैठकको निर्णय अनुसार भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिने भएको हो ।
निषेधाज्ञाको समयमा (एम्बुलेन्स, औषधि, फोहरमैला, विद्युत, ग्याँस, तरकारी, दुध, दूरसञ्चार) लगायत अतिआवश्यकताका सवारीका साधन वाहेक अन्य सवारीका साधन बन्द रहने छन् । त्यस्तै अत्यावश्यक सेवा तथा बस्तु उत्पादन र वितरण गर्ने उद्योग तथा व्यवसायहरु वाहेकका अन्य सबै उद्योग, व्यापार व्यवसाय बन्द हुने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
त्यस्तैसरकारी राजस्व संकलन लगायतका कोरावार गर्ने गरी अनुमति प्राप्त वाहेकका अन्य बैंक तथा वित्तीय संस्था बन्द रहने छन् । सञ्चालन गर्नुपरेमा सञ्चालन गर्ने समय र स्वास्थ्य मापण्ड अपनाएर मात्रै सञ्चालन गर्न पाइने छ ।
जिल्लामा कोरोना संक्रमणलाई फैलना नदिनका लागि स्वास्थ्य कार्यालय दाङ र स्थानीय पालिकाहरुले समन्वय गरी परीक्षणको दायरा बढाउने समते बैठकले निर्णय गरेको छ ।











