धरान, १४ भदौ । कोरोनाबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आमा छोराको ज्यान गएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सुनसरी धरान–१७ का दुई जना कोरोना संक्रमितको ज्यान गएको हो ।
धरान उपमहानगरपालिकाका ७४ वर्षीया महिला र ६० वर्षीया पुरुषको ज्यान गएको हो । उनीहरु आमा छोरा भएको धरान उपमहानगरपालिका १७ का वडा अध्यक्ष सुर्यबहादुर भट्टराईले बताएका छन् ।
एक साता अगाडिबाट अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरोले ग्रस्त महिलालाई भदौ १३ गते साँझ अस्पताल भर्ना गरिएको थियो । स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा आइतबार मात्रै कोरोना पुष्टि भएको थियो । पुरुष भने दश दिन अघि स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझ अस्पताल भर्ना भएका थिए । उनको पनि आइतबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।











